बोली नफुटेका बच्चाहरु आफ्ना पीडा रुवाइबाट व्यक्त गर्छन् । तर, बच्चा रुनुलाई प्रायः अभिभावकले सामान्य रुपमा लिने गरेको देखिन्छ । बच्चाहरु त्यसै रुँदैनन् । बच्चा रुनुको पछाडि धेरै कारण हुन्छन्।
यदि समयमै अभिभावकले ध्यान दिन सकेनन् भने बच्चाहरुको ज्यानै जोखिममा पर्न सक्छ । आफ्नो समस्या बताउन नसक्ने भएकाले बच्चा रोयो भने उसमा केही समस्या छ भन्ने कुरा अभिभावकले बुभ्mन जरुरी छ।
सामान्यतया नवजात शिशुहरु भोक लाग्दा, वातावरणीय कारण, दिसा–पिसाब लाग्दा, संक्रमण, एलर्जी र जन्मजात रोग लगायतका कारण बढी रुने कराउने गर्दछन् । तीमध्ये बच्चा रुने केही कारण यस्ता छन्ः




१. पर्याप्त मात्रामा दूध खान नपाउँदाः नवजात शिशुहरुलाई एक महिनासम्म प्रत्येक दुई घण्टामा एकपटक दूध खुवाउनुपर्छ । एक महिनादेखि ६ महिनासम्म प्रत्येक तीन घण्टाको फरकमा आमाको दूध खुवाउनुपर्छ । त्यसकारण पर्याप्त मात्रामा दूध खान नपाउँदा बच्चाहरु धेरै रुने–कराउने गर्छन् ।
२. पेटमा जम्मा हुने ग्यास बाहिर ननिस्किँदाः आमाले दूध चुसाउन नजान्दा पनि बच्चाहरु अत्यधिक रुने गर्छन् । दूध खाएपछि बच्चाको पेटमा ग्यास भरिने गर्छ । बच्चाको पेटमा भरिएको ग्यासलाई धेरै आमाले निकाल्न जानेका हुँदैनन् । दूध खुवाइसकेपछि बच्चालाई आमाले आप्mनो कुममा राखी बिस्तारै बच्चाको ढाडमा चार–पाँच पटक थप्थपाउँदा बच्चाको पेटबाट ग्यास बाहिर निस्किन्छ । त्यस्तै, बच्चालाई सुल्टो पारेर सुताएर दुवै खुट्टालाई पेटतिर खुम्च्याई विस्तारै पेटमा मालिस गर्दा पनि ग्यास बाहिर निस्किन्छ । त्यसो गरिएन भने बच्चाहरुले ग्यासका कारण असहज महसुस गरी दूध ओकल्ने र रुने गर्छन् ।
३. वातावरणका कारणः भर्खरै जन्मेको बच्चालाई बाह्य वातावरणसँग घुलमिल हुन समय लाग्छ । उनीहरुले सुरुमा अनौठो महसुस गर्छन् । नयाँ वातावरणमा सहजै घुलमिल हुन नसक्ने हुँदा पनि बच्चाहरुमा रुने समस्या देखिन्छ ।
४. संक्रमणः बच्चा रुनुको अर्को महत्वपूर्ण कारण संक्रमण पनि हो । जन्मेको चौथो दिनसम्म आमाको दूधबाट निस्किने बाक्लो दूध (कोलोस्ट्रोम) धेरैले फाल्ने गर्छन् । यो दूध नखुवाउँदा बच्चाले रोगबाट लड्ने क्षमता बढाउने तत्व पाउँदैन । जसले बच्चाहरुलाई सहजै संक्रमण बढ्ने गर्दछ । त्यस्तै, आमाको खानपिन र पारिवारिक अवस्थाले पनि बच्चाहरुको स्वास्थ्यमा समस्या बढाउँछ । आमाले पर्याप्त मात्रामा झोलिलो पदार्थ नखाँदा र घरमा सरसफाइमा ध्यान नदिँदा पनि बच्चालाई संक्रमण बढ्छ । जाडोमा सम्भावित संक्रमणबाट बालबालिकालाई बचाउन विशेष ध्यान दिनुपर्छ हुन्छ ।
५. एलर्जीः बच्चाका लागि एलर्जी अर्को समस्या हो । यो समस्याबाट धेरै बच्चा प्रभावित हुने गर्छन् । बच्चाहरुमा हुने एलर्जी रातको समयमा बढी सक्रिय हुने भएकाले राति बच्चा बढी रुन्छन् । एलर्जीबाट जोगाउन बच्चालाई जाडोमा हप्तामा दुई पटक र गर्मीमा हप्तामा चार पटक नुहाइदिने गर्नुपर्छ । तर, नवजात शिशुको हकमा भने नाभी नखस्दासम्म बच्चालाई नुहाउनु हुँदैन । नाभीमा संक्रमण हुँदा सिधै रगतमा संक्रमण हुने भएकाले बच्चाको नाभीमा छुने, चलाउने र तेल हाल्ने गर्नु हुँदैन ।
६. खानपिनको गडबडीः ६ महिनाभन्दा माथिका बच्चालाई आमाको दूधबाहेक पोषणयुक्त पूरक खानेकुरा पनि खुवाउनुपर्छ । यस्तो अवस्थामा खानामा भएको गडबडीका कारण बच्चाहरु रुने गर्छन् । यो उमेरका बालबालिकाको शारिरीक विकाससँगै आहारको मात्रा पनि बढ्छ । तर पाचन प्रक्रियामा त्यति धेरै विकास नभइसकेको हुनाले यतिबेला बालबालिकाको खानपिनमा धेरै ध्यान दिनुपर्ने हुन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।