काठमाडौं- सरकार र संघीय समाजवादी फोरमबीच बिहिबार बिहान भएको वार्तासमेत निष्कर्षविहीन भएको छ।
संविधान संशोधनमा सहमति जुटाएका दुवै पक्षबीचको संवाद मन्त्रालय बाँडफाँटमा गएर अल्झिएपछि वार्ताले मूर्तरुप लिन सकेन। दुवै पक्षले वार्ता सकारात्मक भएको बताउँदै चाँडै निष्कर्षमा पुगिने दाबी गरेका छन्। फोरम नेता राजेन्द्र श्रेष्ठले वार्ता सकारात्मक भएको बताउदै चाँडै टुंगोमा पुगिने दाबी गरे।
‘संशोधनमा धेरै दुरी बढेको थियो, त्यसलाई कम गर्न समेत समय लाग्छ,' उनले नेपाल लाइभसँग भने, 'वार्ता सकारात्मक छ, असहमति भन्ने चिज केही छैन।’
सरकारको नेतृत्वकर्ता दल एमाले र फोरम संविधान संशोधन गर्न सहमत छन्। संविधानको धारा २ सय ७४ संशोधन गर्ने र मधेसको माग सम्बोधन गर्न दुवै पक्ष सहमत रहेको सम्झौतापत्रमा दुवै पक्षबीच समझदारी बनिसकेको छ।
संशोधनमा सहमति जुटेपछि अहिले वार्ता मन्त्रालय बाँडफाँटमा केन्द्रित छ। स्रोतका अनुसार फोरम अध्यक्ष उपेन्द्र यादवले तीन मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने अडान राखेका छन्। पार्टीभित्रका प्रभावशाली नेता अशोक राई पक्षको व्यवस्थापन गर्नसमेत यादवले तीन मन्त्रालयसहित एक राज्यमन्त्रीको अडान लिएका छन्।
‘चार मन्त्रालयबाट बार्गेनिङ सुरु गरेको फोरम पछिल्लो वार्तामा तीन मन्त्रालयमा झरेको छ,' बैठकमा सहभागी एक नेताले भने, 'अन्तिममा दुई मन्त्रालय र एक राज्यमन्त्रीमा सहमतिको मिलनबिनन्दु भेटिन सक्छ।’
सरकारले परराष्ट्रसहित एक राज्यमन्त्री लिएर सरकारमा आउन फोरमलाई आग्रह गरेको छ। अन्तिम समयमा दुई मन्त्रालय र एक राज्यमन्त्री दिएरसमेत उपेन्द्र यादवलाई सरकारमा ल्याउने तयारी सत्तारुढ दलको छ।
दुवै पक्षबीच बार्गेनिङमा कुरा नमिलेपछि वार्ता प्रक्रिया निष्कर्षमा पुग्न नसकेको बैठकमा सहभागी एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।