काठमाडौँ- नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कलाश्री सम्मान प्रा डा वासुदेव त्रिपाठीलाई प्रदान गरेको छ।
नेपाली भाषा साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान गरेबापत उनलाई सो सम्मान दिइएको हो।
यसैगरी प्रतिष्ठानले रु एक लाख राशिको ‘राष्ट्रिय कलाश्री पुरस्कार’ कथाकार माया ठकुरी रु ५० हजार राशिको ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ कवि मणि लोहनी र रु २५ हजार राशिको ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ पत्रकार मोहन दुवाललाई प्रदान गरेको छ।
वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले उक्त सम्मान तथा पुरस्कार प्रदान गर्दै निजी क्षेत्रबाट सञ्चालन गरिएको उक्त संस्थाले नेपाली कला, साहित्यको विकासका लागि भूमिका निर्वाह गरेको भन्दै संगीत क्षेत्रको प्रवद्र्धनका लागि पनि कार्य गर्न सुझाव दिए।
उनले मुलुकमा प्रचलनमा रहेका सबै जाति समुदायका विभिन्न भाषामा सिर्जना भएका साहित्यमध्ये उत्कृष्ट कृतिलाई अनुवाद गरी अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए।
प्रतिष्ठानका संरक्षक डा विमल कोइरालाले राष्ट्रियतालाई बलियो बनाउने माध्यम संस्कृति र भाषा भएको बताउँदै सबै समुदायका फरकफरक भाषा तथा साहित्यको प्रवर्द्धनमा संस्था क्रियाशील रहेको विचार व्यक्त गरे।
संस्थाका अध्यक्ष मोमिला जोशीले १० वर्षदेखि हरेक वर्ष नेपाली भाषा साहित्य, कलासंस्कृति र संगीतको विकासमा योगदान गर्ने साधकलाई यस किसिमको सम्मान प्रदान गरिँदै आएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।