काठमाडौं- केपी ओली नेतृत्वको सरकारसँग सहमति गर्न संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बुधबार साँझ सिंहदरबार पुगेका छन्।
यादव र सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेबीच लिखित सहमति हुने तयारी छ। सिंहदरबारमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका साथै माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को उपस्थितिमा सहमति हुँदै छ।
संघीय फोरमलाई सरकारमा ल्याउन पछिल्लो समय प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले छलफल तीव्र पारेका थिए। फोरम अध्यक्ष यादवले सरकारमा सहभागी हुन संविधान संशोधनको मुद्दा सम्बोधनको ग्यारेन्टी हुनुपर्ने अडान राख्दै आएका छन्।
यसअघि संविधान संशोधनका एजेन्डा सम्बोधन गर्न एमाले र संघीय समाजवादी फोरमबीच सहमतिको पाँचबुँदे प्रारम्भिक खाका तयार भएको थियो। तर, बुँदागत रुपमा भन्दा पनि संविधान संशोधनको मुद्दा सम्बोधन हुनेगरी सहमतिपत्रमा हस्ताक्षर हुने बुझिएको छ।
प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन फोरमलाई प्रस्ताव गरेको छ भने फोरमले परराष्ट्रसहित दुई मन्त्रालय र एक राज्यमन्त्रीको माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।