काठमाडौं- फ्रेन्डस क्लब तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
फ्रेन्डसले आयोजक चन्द्रागिरी नगरपालिकालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो। चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा आइतबार भएको खेलमा फ्रेन्डसको फराकिलो जितमा सन्जोक महर्जन, शक्ति राई, रुमेश बर्तौला, प्रिजेन तामाङ र निशान सुब्बाले गोल गरे। पहिलो हाफमा तीन गोलको अग्रता बनाएको फ्रेन्ड्स क्लबले दोस्रो हाफमा थप दुई गोल गरेको थियो।
खेलको तेस्रो मिनेटमा नै सन्जोक महर्जनले गोल गर्दै फ्रेन्ड्स क्लबलाई अग्रता दिलाएका थिए। पाँचौ मिनेटमा शक्ति र २३औं मिनेटमा रुमेशले गोल गर्दै पहिलो हाफमा नै फ्रेन्ड्सलाई ३–० गोलको अग्रता दिलाए।
४३ औं मिनेटमा घरेलु टोलीले गोल गर्ने सुन्दर मौका खेर फाल्यो। अविरल रिजालको प्रहार क्रसबारमा लागेर रिवाउन्डमा पाएको बललाई अनिल गुरुले प्रहार गरेपनि सुरज गुरुङले हेडमार्फत बचाएका थिए। ५१औं मिनेटमा प्रिजेन र ७०औं मिनेटमा निशानले गोल गरेपछि फ्रेन्ड्सले चन्द्रागिरी नगरपालिकालाई ५–० गोलले पराजित गरेको हो।
.JPG)
प्रतियोगितामा सोमबार विभागीय नेपाल पुलिस क्लब र जावलखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ। दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ। सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।