काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले पदभार ग्रहणपछि बुधबार पहिलो पटक प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्। सो क्रममा गृहमन्त्री थापाले नयाँ कार्यशैलीका साथ शान्ति सुरक्षाका कामकारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिए।
थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अपराध अनुसन्धानमा दक्षता र शान्ति सुरक्षाको सुनिश्चितता हुन आवश्यक रहेकोमा जोड दिएका छन्। प्रदेश प्रहरी ऐन तथा क्षेत्राधिकारका साथै पदोन्नति, साधनस्रोतको अभाव लगायतका समस्या रहेकोबारे आफू जानकार रहेको बताउँदै उनले ती समस्या समाधानका लागि ठोस योजनासहित मन्त्रालयले काम गर्ने विश्वास दिलाए।
गृहमन्त्री थापाले प्रहरी प्रधान कार्यालय कमान्ड सेन्टर, डिजिटल फरेन्सिक ल्याब र पोलिग्राफ सेक्सनको निरीक्षण गरेका थिए। उनले कमान्ड सेन्टरमा ‘भिडियो कन्फेरेन्स’बाट प्रदेश प्रहरी प्रमुखहरूलाई शान्ति सुरक्षा कायम राख्ने सम्बन्धमा आवश्यक निर्देशन दिँदै प्रदेश प्रहरीका समस्याहरू समाधान गरिने वचनबद्धता समेत प्रकट गरे।
सो क्रममा गृहमन्त्री थापालाई प्रहरी महानिरीक्षक अर्यालले प्रहरी संगठनको विकास क्रम, वर्तमान अवस्था, चुनौती, आवश्यकता र अपेक्षाबारे जानकारी गराएका थिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।