भैरहवा– मन्त्रिपरिषद् गठन भएको दुई साता हुन लाग्दा समेत प्रदेश ५ का मन्त्रीहरुले सरकारी निवास पाउन सकेका छैनन्।
आवास व्यवस्था नगरिँदा आआफ्नै तरिकाले बस्दै आएका मन्त्रीहरुको निवास मर्मतको काम पछिल्लो समय तीव्र पारिएको छ। भैरहवामा रहेको भैरहवा–लुम्बिनी भूमिगत जल (भैलुभूज) परियोजना कार्यालयको हाताभित्र रहेका भवनहरुमा रंगरोगन तथा फर्निसिङको काम भइरहेको छ।
त्यहाँका १३ वटा भवनमध्ये ८ वटा भवन मन्त्री निवासको लागि तोकिएको छ। तीमध्ये दुई वटा भवन मर्मतको काम अन्तिम चरणमा पुगेका छन्। अन्य ६ वटा भवनको मर्मत कार्य तीव्र पारिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए।
करिब साढे ८ बिगाहामा फैलिएको भैलुभूज मन्त्रीहरुको निवासका लागि सम्पूर्ण रुपमा उपयुक्त रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मैनालीको भनाइ छ।
‘सुरक्षा, बसाइ आदि हरेक हिसाबले यो ठाउँ जिल्लाकै सबैभन्दा उपयुक्त हो’, उनले भने। यसका साथै सरकारले सम्भव भएसम्म सरकारी भवनहरु प्रयोग गर्ने उद्देश्य लिएकाले पनि यो ठाउँ उचित भएको प्रमुख जिल्ला अधिकारीले बताए।
यता भैरहवामा बढ्दो गर्मी, लामखुट्टेको समस्या र बुटवलबाट भैरहवाको दूरी देखाउँदै अहिले प्रदेश नम्बर ५ का मन्त्रीहरु भैरहवा बस्न नमानेको स्रोत बताउँछ। प्रदेश सरकारले सबै मन्त्रालय बुटवलमै तोकेको कारण मन्त्रीहरुको निवास पनि बुटवलमै हुनुपर्ने मन्त्रीहरुले अडान लिएको बुझिएको छ।
यसबारे बुझ्दा प्रमुख जिल्ला अधिकारी मैनालीले बाहिर झुटो हल्ला चलेको भन्दै खण्डन गरे।
रुपन्देही जिल्लामै रहे पनि प्रदेश सरकारबाट उपेक्षित रहेको भैरहवामा मन्त्रीहरुको निवासले आशा जगाएको छ।
प्रदेश सरकारको मन्त्री निवास, संसद् सचिवालय, मन्त्रालय लगायतका पूर्वाधारहरु मर्मतका लागि सरकारले ५ करोड तथा नयाँ निर्माणका लागि १ करोड गरी ६ करोड रुपैयाँ विनियोजन गरेको डिभिजन प्रमुख सुरेश ठाकुरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।