एजेन्सी– नौ वर्षको उमेरमै कसैले स्नातक उत्तीर्ण गर्दैछ भन्ने खबर सुन्दा वा पढ्दा हामी सबैलाई अनौठो लाग्छ। तर बेल्जियमका एक तीक्ष्ण स्वभावका बालकले यतिबेला यही समाचारसहित चर्चा बटुलिरहेका छन्।
लरेन्ट सिमोन नामका ती बालक अहिले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरिरहेका छन्। यो विषय आफैमा कठिन पनि मानिन्छ। ‘यद्यपि उसले यसैमा रुची देखाएकाले हामीले पनि उसको रोजाइलाई कदर गर्यौं’, सिमोनका अभिभावक एलेक्जेन्डर सिमोनले अन्तराष्ट्रिय सञ्चार माध्यमहरुसँग भनेका छन्, ‘उसको तिक्ष्णताले हामीलाई पनि कहिलेकाहीं छक्कै पार्छ।’
सिमोन इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी (टियूई)मा अध्ययनरत छन्। उनको स्नातक पढाइ आउँदो डिसेम्बरमा सकिँदैछ।

सिमोनको अस्वभाविक क्षमता र प्रतिभाबाट उनका अभिभावक, आफन्त र उनका शिक्षकहरू पनि आश्चर्यमा छन्। उनका शिक्षकले सिमोनलाई ‘असाधारण’को संज्ञा दिए। सिमोन स्नातकपछि इलेक्ट्रिकल इन्जिनियरिङमै पिएचडी गर्ने योजनामा छन्।
रमाइलो त के छ भने‚ सिमोनले पिएचडीसँगसँगै मेडिकल डिग्री पनि लिने योजना बनाएका छन्। ‘उसको योजना नै यस्तो छ। हामीलाई पनि रमाइलो लागिरहेको छ‚’ सिमोनका बुबाले बताए।
लरेन्टको प्रतिभा र क्षमताबारे पहिलो पटक उनका हजुरबुबा–हजुरआमाले पत्तो पाएका थिए। लरेन्टका हजुरबुबा र हजुरआमाका अनुसार आफ्नो नाति यति प्रतिभावान् भएको कुरा बुहारी लेडिया र छोरा एलेक्जेण्डर सिमोन्सलाई सुनाउँदा उनीहरुले पटक्कै विश्वास गरेका थिएनन्। आफ्ना आमाबुबाबाट छोराको प्रतिभाबारे सुन्दा एक हिसाबले आफू छक्क परेको अनुभव एलेक्जेन्डरले सुनाए। मुस्कुराउदै भने, ‘कसरी पत्याउनु?’
तर पछि लरेन्टका शिक्षकले उनको प्रतिभाबारे अभिभावकलाई पुष्टि गरेपछि कहिँकतै शंकै रहेन।
लरेन्टलाई विश्वविद्यालयमा भर्ना गर्नु अघि झण्डै आधा दर्जन पटक त उनलाई अनेक विधिबाट परीक्षा लिइएको रहेछ। जब उनीमाथि परीक्षाहरू भए‚ जवाफ हेरेर वा सुनेर शिक्षकहरु छक्कै परे। उनीहरूका अनुसार लरेन्टको सिकाइ गुणात्मक र अरु सामान्य मान्छेहरुको भन्दा तीव्र छ।
‘यो बाबु गर्भमा हुँदा के खानुभएको थियो र यस्तो भयो?’ भन्ने मिडियाहरुले गरेको प्रश्नमा लरेन्टकी आमा लेडियाले ठट्टा गर्दै भनिन्, ‘गर्भमा हुदाँ धेरै माछा खाएकी थिएँ। ए, यस्तो हुन पो रहेछ।’

उता लरेन्ट अध्ययन गर्ने विश्वविद्यालयका शिक्षा निर्देशक सोएर्ड हल्शोफ भन्छन्‚ ‘लरेन्टमा भएको असाधारण प्रतिभा असामान्य भने होइन‚’। उनका शब्दमा ‘सानै उमेरमा खेलकुदमा असाधारण प्रतिभा हुने बालबालिकाजस्तै केहीमा अध्ययनको क्षमता बढी हुन्छ‚’ यद्यपि उनले लरेन्टको प्रतिभा ‘असाधारण’ छ भन्ने स्वीकारे।
लरेन्ट‚ फुर्सदमा उनको कुकुरसँग लुकामारी खेल्न रमाउँछन्। घरमा रहेको कुकुरसँग खेल्दा उनले रमाइलो मात्र होइन आफूलाई शारीरिक रुपमा अभ्यास भएको छ भन्ने ठान्दछन्। र, कहिलेकाँही फोनमा गेमहरु खेल्न र युटुबमा विषयगत कुराहरु सुन्न र पढ्न पनि समय खर्चिन्छन्। ‘ऊ जतिखेरै गम्भिर मात्र होस् भन्ने हामी चाहदैनौं। उसले आफूलाई जे मन पर्छ त्यही गरोस्’ बुबा अलेक्जेण्डरले भने‚ ‘उसले आफ्नो बालापन र प्रतिभाबीच सन्तुलन कायम गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।