काठमाडौं– स्वेच्छिक अवकाश रोज्ने निजामती कर्मचारीको संख्या करिब ६ हजार पुगेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मंगलबारसम्म मन्त्रालयमा आएको विवरणअनुसार ४ हजार ७ सय ६४ कर्मचारीको स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन्।
धेरै जिल्लाहरुबाट विवरण आउन बाँकी रहेकाले स्वेच्छिक अवकाश रोज्नेको संख्या करिब ६ हजार पुग्ने देखिएको सामान्य प्रशासन मन्त्रालय, स्वेच्छिक अवकाश इकाईका उपसचिव धर्मराज रोकायले बताए।
१३ गते स्वेच्छिक अवकाशका लागि निवेदन दर्ता गर्ने अन्तिम दिन थियो। जिल्लाहरुले २० गतेसम्म स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण बुझाउने म्याद दिएकाले वास्तविक तथ्याङक अझै प्राप्त नभएको हो।
सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाश कार्यक्रम ल्याएको हो। २० वर्ष सेवाअवधि र ५० वर्ष उमेर भएका कर्मचारीले स्वेच्छिक अवकाश रोज्न पाउने प्रावधान छ। ७ वर्षको एकमुष्ठ पेन्सन लगायत सुविधा दिने गरी स्वेच्छिक अवकाश कार्यक्रम ल्याइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।