बहादुरी देखाउने प्रहरी, चेपुवामा दुई किशोर

अदालतको १४ नम्बर इजलासमा लाटोकोसेरो बहस
नारायण अधिकारी  | २०७६ कार्तिक २९ शुक्रबार | Friday, November 15, 2019 १४:१५:०० मा प्रकाशित

काठमाडौं- ‘यो एक हप्तामा धेरैथोक बुझियो, माया गर्ने जमाना रहेनछ।’

यति बोलेपछि केही समय उनको गला अवरुद्ध भयो। 

एकछिनको मौनतालाई तोड्दै उनी मनमनै बर्बराउन थाले, ‘बाउ, हजुरबाउ कोही चौकी नपरेको। आज आएर आफू परियो। चौकी परेको भनेपछि त्यसै बद्नाम भइयो। यस्तो पनि हुँदा रहेछ।’

आँखामा टिलपिल टिलपिल घुम्दै गरेका आँसुका थोपा। दुई हत्केला एकआपसमा च्याप्प समात्दै बटार्ने। घरी औंला पड्काउने। निकै दिग्दारी भावमा उभिएका थिए, एक किशोर जिल्ला अदालतको १४ नम्बर इजलासमा।

उनीसँगै अर्का किशोर पनि खडा भएका थिए। हल्का जुँगाको रेखी बसेका ती किशोर पनि आफू निर्दोष भएको बयान दिँदै थिए। 

‘खै सर केही थाहा भएन। यस्तो बेच्दा पैसा आउँछ भन्ने पनि थाहा थिएन। माया लागेर उद्धार गर्दा यस्तो आरोप खेप्नुपर्‍यो,’ हिजो बिहीबार अदालतको इजलासमा न्यायाधीश श्रीकृष्ण भट्टराई समक्ष उनीहरु निर्दोष भएको बताउँदै थिए। 

यसरी अनुनय विनय गर्दै आफू निर्दोष भएको बताउने ती दुई किशोरमध्ये एक जना काभ्रेका तामाङ थरका हुन् भने अर्का एक जना पाँचथरका लिम्बू थरका । यी दुवै जना परिवारसँगै कपनमा बस्छन्, एकअर्काको छिमेकी भएर। दुवै जना कक्षा १२ मा अध्ययनरत छन्।

‘अनि लाटोकोसेरोको बच्चा चाहिँ कसले समातेको?’ केही कुरा खुली पो हाल्छ कि भन्ने भावसहित न्यायाधीश भट्टराईले सोधे।

तामाङ किशोरले जवाफ फर्काउँछन्, ‘मैले हो सर।’

यही लाटोकोसेरोको बच्चा समात्दा उनीहरु अदालतसम्म मात्रै पुगेनन्। ७ दिन हिरासमतै बस्नु पर्‍यो।

कात्तिक २१ गते यी दुई किशोर लाटोकोसेरो कार्टुनमा राखेर बुढानीलकण्ठ नगरपालिका–९ न्युकोलोनी, कपन अस्पताल नजिकको झाडीतर्फ जाँदै थिए। जुन ठाउँमा सानो खोला पनि छ। त्यसको पारितर्फ साना बुट्यानहरु पनि छन्। उनीहरुको विपरीत दिशाबाट ४/५ जना प्रहरी पैदल गस्तीमा आउँदै थिए।

त्यति नै बेला उनीहरु प्रहरीको फन्दामा परे। ‘चाहेको भए हामी भाग्न सक्थ्यौं। तर भाग्नुपर्ने अवस्था थिएन। हामी नभागी अगाडि बढ्यौं,’ लिम्बू किशोर सुनाउँछन्।

‘लाटोकोसेरो बोकेर बेच्न हिँड्ने? यिनीहरुलाई पक्राउ गर्’ भन्दै फिल्ड कमान्डरले आदेश दिएपछि ती किशोर त्यसबेलै पक्राउ परे। उनीहरुले आफ्नो भनाइ प्रहरी समक्ष प्रष्ट रुपमा राख्न समेत पाएनन्।

उनीहरुलाई लाटोकोसेरोको बच्चासहित महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइयो। संरक्षित पक्षी बेच्न खोज्ने दुई किशोर पक्राउ गरिएकोबारे प्रहरीले कागजात तयार गर्‍यो। ‘कागजात हामीलाई पढ्न दिइएन। ल्याप्चे र सही मात्र हान्न लगाए। के लेखेको थियो थाहा भएन,’ अदालतमा दुई किशोरले बयानका क्रममा भने।  

महाराजगञ्ज प्रहरीले भने विशेष सूचनाका आधारमा संरक्षित पक्षी लाटोकोसेरो बेच्न खोज्ने दुई किशोरलाई पक्राउ गरिएको र सोही अनुसारको कसुरमा कारबाही गर्न भन्दै पत्रसहित उनीहरुलाई डिभिजन वन कार्यालय काठमाडौं पठाएको थियो। ठूलै अपरेसनमा सफलता हात पारेको अनुभुति झल्काउने गरी ‘विशेष सूचनाका आधारमा’ भनेर विशेषण प्रयोग गरिएको थियो। 

१२ पढ्दै गरेका ती किशोर दुई किशोरलाई प्रहरी र वन कार्यालयको प्रतिवेदन अनुसार एक हप्ता हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दियो।

सोही अनुसार उनीहरु एक हप्ता महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा बसे। अदालतमा रिर्पोटिङको क्रममा त्यहाँ पुगेका नेपाल लाइभकर्मीलाई तामाङ थरका किशोरले सुनाए, ‘बित्थामा एक हप्ता प्रहरीले थुनेको छ। यो चिसोमा न घाम ताप्न पाइन्छ, न नुहाउन पाइन्छ। चिसोले पेट ढाडिएर दिनको १०/१२ पटक ट्वाइलेट जानुपर्छ। आज त ट्वाइलेट जान पनि प्याक भएर सर (वन कार्यालयका तर्फबाट दोस्रो पटक म्याद थप गर्न ल्याउका सहायक वन अधिकृत ध्रुवकुमार श्रेष्ठ) लाई भनेर वन कार्यालयको ट्वाइलेट गएर आएको।’

उनले एकै शब्दमा हामीलाई हिरासत बसाइको पीडा सुनाए।

त्यसपछि पालो आयो उनीहरुलाई लागेको आरोपको बयान सुन्ने।

‘२० गते म घरमा बसिरहेको थिएँ। कताबाट लाटोकोसेरोको बच्चा मेरो घर नजिकको सडकमा आएछ। केटाकेटीले समात्ने, खेलाउने, फोटो खिन्चे गरिरहेका थिए। उड्न पनि नसक्ने बच्चा रहेछ। देखेपछि मलाई माया लाग्यो। समातेर घरमा ल्याएँ,’ सडकमा बालबालिकाले खेलाएर मार्न लागेको बच्चा उनीहरुबाट थुतेर आफ्नो घर ल्याएको तामाङ थरका किशोरले सुनाए।

त्यसरात तामाङले आफैंले खाने दूधभात लाटोकोसेरोको बच्चालाई दिए। दूधभातसँग परिचित नै नभएको र बालबालिकाहरुले खेलाएर झोक्राइसकेको त्यो बचेराले किन खान्थ्यो र। त्यसदिन रात बित्यो। भोलिपल्ट दिउँसो लिम्बू थरका साथीलाई यसबारे उनले बताए।

त्यसपछि झाडीमा लगेर छाड्ने भन्दै उनीहरुले लाटोकोसेरोको बच्चा कात्तिक २१ गते कार्टुनमा हालेर कपन अस्पताल पछाडिको झाडीतर्फ लम्कँदै थिए। 

त्यही बेला उनीहरुको हातमा हत्कडी लाग्यो। वनको पक्षी वनमै रमाउँछ भनेझै लाटोकोसेरोलाई झाडीमा छाड्ने सपना देखेर हिँडेका उनीहरुलाई लाटोकोसेरो बेच्न हिँडेको आरोप लाग्यो। उनीहरुमाथि प्रहरीले बहादुरी देखायो।

‘बाटोमा फेला परेको लाटोकोसेरोको बच्चा। त्यो पनि बालबालिकाले खेलाएर मार्न लागेको अवस्थमाा उद्धार गरेर छाड्न लागेको यी किशोहरुलाई मुद्दा नै चलाउनुपर्ने अवस्था छैन त?’ ७ दिन हिरासतमा बसेका उनीहरुले दोस्रो पटक म्याद थप गर्न लगेका सहायक वन अधिकृत श्रेष्ठलाई न्यायाधीश भट्टराईले प्रश्न गरे।

उनले यो प्रश्नको उत्तर प्रहरीसँग खोज्नुपर्ने भन्दै जवाफ दिए, ‘प्रहरीले बेच्न लागेको अवस्थामा पक्राउ गरिएको भनेर कारबाही गरी पाउँ भनेर पठाएको छ श्रीमान्।’

लाटोकोसेराको उद्धार गर्ने दुई किशोरलाई पक्राउ गरेको प्रहरीले भने निकै गम्भीर गल्ती गरेको प्रष्ट हुन्छ। बेच्न लागेको भए किन्ने मान्छे को हो? उनीहरु यसअघि पनि यस्तो केसमा संलग्न थिए/थिएनन्। उनीहरुको पृष्ठभूमि के? प्रहरीले यी कुनै कुराको अनुसन्धान आवश्यक ठानेन।

‘हामी बेच्न लिएर हिँडेका मान्छे होइनौं। हाम्रो मोबाइल लिएर पनि अनुसन्धान गर्नुहोस्। कोसँग कुरा भएको छ? कल डिटेल हेर्नुहोस् भन्दा त्यो पनि प्रहरीले मानेन। मात्रै आरोप लगायो, ‘लाटोकोसेरो बेच्न खोजेको,’ दुवै किशोरले भने।

अघिपछि पक्राउ पर्ने बित्तिकै प्रमाण नष्ट हुनसक्छ भनेर हतारमा मोबाइल बरामद गरेर अनुसन्धान गर्ने प्रहरीले उनीहरुको भने मोबाइल नै बरामद गरेन। हिरासतमा पुगेपछि उनीहरुले आफ्नो मोबाइल परिवारलाई जिम्मा लगाएका थिए। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसारको कसुरमा उनीहरुलाई कारबाही हुनुपर्ने र ४५ दिनसम्म हिरासतमा राख्न पाउने व्यवस्था अनुसार दोस्रो पटक म्याद थपका लागि उनीहरुलाई हिजो अदालत पुर्‍याइएको थियो।

तर उनीहरुको बयान र लागेको आरोप रत्ति पनि मिलेन। 'न कहिल्यै शिकार खेल्ने मान्छे, न कोही किन्न तयार भएको मान्छे छ। न लाटोकोसेरोको बच्चा नै मारेको छ। १२ पढ्दै गरेका यस्ता किशोरको भविष्य यस्तो बिना प्रमाणको आरोप लगाएर बिगार्न मिल्छ?,' न्यायाधीश भट्टराईले केही आक्रोश मिश्रित भावमा प्रतिप्रश्न गरे।

दुई किशोरलाई सम्झाउँदै न्यायाधीशले भने, ‘अब यस्तो पक्षी देखिए कहिल्यै नसमाउनु। प्रहरीलाई खबर गर्नु। १२ पढ्दै रहेछौं, अझ राम्रोसँग पढ्दै जानु। कुलतमा नफस्नु। सज्जन नागरिक बन्नु, आजबाट घर जान पाउँछौ।’

न्यायाधीशले म्याद थप नगर्ने र घर जान पाउने जानकारी पाए पनि उनीहरुको मुहारमा त्यति बिघ्न सुखी भने देखिएन। उनीहरु भन्दै थिए, ‘बाउ, हजुरबाउ कोही चौकी परेका थिएनन्, हामी पर्‍यौं। चौकी परेको भनेपछि सबैले नराम्रो सोच्छन्। घरमा पनि कति गाली गर्ने हुन्।’ 

डिभिजन वन कार्यालय लगेर अभिभावकको जिम्मा लगाएर उनीहरुलाई छाड्ने सहायक वन अधिकृत श्रेष्ठले बताए। प्रहरीको लापरबाहीले झन्डै जेलसम्म पुगेका उनीहरु ७ दिनको हिरासत बसाइपछि घर फर्किए। उनीहरुलाई ७ दिन हिरासत पठाउने लाटोकोसेरोलाई भने सदर चिडियाखाना पठाइएको छ।

यो पनि

सर्वसाधारणलाई यसरी बनाइयो 'विप्लव', रक्सौल नपुगेका व्यक्तिलाई पुर्‍याइयो भेनेजुएला

स्वर्ण रजत कास्य जम्मा
भारत
६२ ४१ २१ १२४
नेपाल
३६ २७ ३८ १०१
श्रीलंका
१७ ३५ ५५ १०७
पाकिस्तान
१५ २३ २४ ६२
बंगलादेश
११ ४५ ६०
माल्दिभ्स
भुटान