काठमाडौं- संविधान संशोधनका एजेन्डा सम्बोधन गर्न सत्ता नेतृत्व गरिरहेको नेकपा एमाले र संघीय समाजवादी फोरमबीच सहमतिको प्रारम्भिक खाका तयार भएको छ।
दुवै दल सम्मिलित अनौपचारिक कार्यदलका नेताहरुले सहमतीको नजिक पुगेको बताउँदै चाँडै सहमती पत्रमा हस्ताक्षर हुने बताएका छन्। कार्यदलले गरेको सहमतीलाई दुवै दलका शीर्ष नेताले अध्ययन गरिरहेका छन्। सम्भवतः भोलि नै सहमती पत्रमा हस्ताक्षर हुने फोरमका एक नेताले बताए।
फोरमलाई सरकारमा ल्याउने प्रयास स्वरुप एमालेले संविधान संशोधनमा लचकता देखाएको हो। फोरम सरकारमा सहभागी भएसँगै वर्तमान सत्ता गठबन्धन दुई तिहाइको बन्नेछ। यसका साथै, फोरम सरकारमा आए प्रदेश २ मा मधेस आन्दोलनले उठाएका राजनीतिक मुद्दा व्यवस्थापन गर्न सकिने प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको विश्वास छ।
एमाले र फोरमका नेता सम्मिलित अनौपचारिक कार्यदलले तयार पारेको सहमतिको प्रारम्भिक खाका यस्तो छः
१. संविधान संशोधन गरेर सम्बोधन गर्नुपर्ने विषयलाई उचित समयमा संशोधन गर्ने।
२. आपसी सहमतीका आधारमा संशोधनको प्रक्रिया अगाडि बढाउने।
३. संविधान संशोधनका एजेन्डामा आधारित माग र मुद्दालाई सरकार आफैंले अगाडि बढाउने।
४. फोरमसहितको सहभागितामा नयाँ सरकारको नीति र कार्यक्रम ल्याउने।
५. संघीय समाजवादी फोरम ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने।
प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन फोरमलाई प्रस्ताव गरेको छ भने फोरमले परराष्ट्रसहित दुई मन्त्रालय र एक राज्यमन्त्रीको माग गरेको छ। फोरमलाई सरकारमा ल्याउने कसरतकै कारण सोमबार मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।