काठमाडौं- ल्यान्डमार्क हाउजिङमा ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व अर्थराज्यमन्त्रीसमेत रहेका व्यवसायी रुप ज्योतिको अनुसन्धानपछि बुझाएको फाइल सरकारी वकिल कार्यालयले प्रहरीलाई नै फिर्ता पठाएको छ।
अनुसन्धान नपुगेको भन्दै सरकारी वकिल कार्यालयले बिहीबार फाइल फिर्ता पठाएको हो।
बुधबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंले फाइल सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको थियो। प्रहरीको अनुसन्धानमा ठगी भन्ने प्रस्ट खुल्न नसकेपछि फिर्ता पठाएको सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खनालले बताए।
‘हामीले फाइल प्रहरीलाई फिर्ता पठाएका छौ,’ उनले भने ‘ प्रहरीले अनुसन्धान पूरा गरेर ल्याएपछि यस विषयमा प्रक्रियागत रुपमा निर्णय हुनेछ।’
जिल्ला अदालतको अनुमतिले थुनामा रहेका उनको मुद्दा मिलापत्रमा जाने तयारी भइरहेको छ। त्यस्तै ठगीको उजुरीकर्ता विज्ञेन्द्रकृष्ण मल्लले पनि उजुरी फिर्ताका लागि निवेदन दिएका छन्।
मल्लले सरकारी वकिलको कार्यालयमा जाहेरी फिर्ता हुनुपर्ने भन्दै निवेदन दिएपनि सरकारी वकिलले भने फाइल प्रहरी कार्यालय पठाएको छ।
मल्लको निवेदनपछि के हुन्छ भन्ने प्रश्नमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख खनालले प्रहरीको अनुसन्धान प्रतिवेदन आएपछि कानुन अनुसार निर्णय हुने बताए। प्रहरीले बिहीबार फाइल फिर्ता गरे सरकारी वकिलको कार्यालयले अध्ययन गरेर प्रक्रिया सुरु गर्ने उनको भनाई छ।
मुद्दा नचल्ने अवस्था भएमा सरकारी वकिल कार्यालयले नै मुद्दा नचल्ने निर्णय गर्नेछ। ठगी, बैंकिङ कसुरसहितका केही अपराधमा जाहेरीकर्ता सहमत भएमा मुद्दा फिर्ता हुन सक्ने कानुनी व्यवस्था भएकाले यो मुद्दा पनि टुङ्गाउन सक्नेछ।
मुद्दा नचल्ने निर्णय जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ता कार्यालयसम्म पठाउनेछ। महान्यायाधीवक्ताबाट सदर भएपछि मुद्दा चल्ने छैन।
ज्योति हाल जिल्ला अदालतको अनुमतिले थुनामा रहेका छन्। ज्योतिसँगै उनकी छोरी सुरुचि पनि जिल्ला अदालतको अनुमतिले थुनामा छिन्। जिल्ला अदाललते पहिलो पटक ३ र दोस्रो पटक पाँच दिन मुद्दाको अनुसन्धानका लागि समय दिएको थियो।
अदालतले दिएको समय सिमा शुक्रवार सकिँदै छ। ज्योति परिवारले अर्को पटक म्याद थपका लागि लैजानुअघि नै उनीहरुको परिवारविरुद्ध रहेको जाहेरीमा मुद्दा नचल्ने निर्णय गराउने प्रयास गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।