काठमाडौं- एकीकृत पार्टीको सांगठनिक संरचना र विधान तयार पार्न वाम गठबन्धनले बनाएको विधान मस्यौदा तथा संगठनात्मक कार्यदलले औपचारिक गृहकार्य सुरु गरेको छ।
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यदलको दोस्रो बैठकले दुवै पार्टीको जनवर्गीय संगठन र विधान निर्माणका लागि दुई वटा समिति बनाउने निर्णय गरेको छ।
दुवै पार्टीको जनवर्गीय संगठनको एकीकरणका लागि एमालेबाट गोकर्ण विष्ट र माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल रहेको समिति बनाइएको छ। त्यस्तै, एकीकृत पार्टीको प्रारम्भिक विधान निर्माणका लागि एमालेबाट बेदुराम भुसाल र माओवादीबाट वर्षमान पुन रहेको समिति गठन गरिएको छ।
दुवै समितिले एर्कीकृत पार्टीको जनवर्गीय संगठनको व्यवस्थापन र पार्टीको प्रारम्भिक विधान निर्माण गरी कार्यदललाई बुझाउनेछन्। दुवै समितिलाई प्रतिवेदन बुझाउन फागुन २२ गतेसम्मको समय दिईएको छ।
एमाले नेता बेदुराम भुसालले दुवै पार्टीको सांगठनिक संरचनाको अध्ययन गरेर दुई समिति गठन गरिएको नेपाल लाइभलाई बताए।
‘दुवै पार्टीको जनवर्गीय संरचना व्यवस्थापन र विधान निर्माणको प्रारम्भिक काम सुरु भएको छ। कार्यदलले प्रारम्भिक रुपमा काम अघि बढाएको छ’, उनले भने।
वाम गठबन्धनका प्रमुख दुई नेताले कार्यदललाई सहमतिको प्रतिवेदन बुझाउन फागुन २५ गतेको अन्तिम समयसीमा दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।