काठमाडौं- एकीकृत पार्टीको सांगठनिक संरचना र विधान तयार गर्न वाम गठबन्धनले बनाएको विधान मस्यौदा तथा संगठनात्मक कार्यदलले औपचारिक गृहकार्य सुरु गरेको छ।
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यदलको दोस्रो बैठकले दुवै पार्टीको जनवर्गीय संगठन र विधान निमार्णका लागि दुई समिति बनाउने निर्णय गरेको छ।
दुवै पार्टीको जनवर्गीय संगठनको एकीकरणका लागि एमालेबाट गोकर्ण विष्ट र माओवादी केन्द्रबाट गिरिराजमणी पोखरेल रहेको समिति बनाइएको छ।
त्यस्तै, एकीकृत पार्टीको प्रारम्भिक विधान निमार्णका लागि एमालेबाट बेदुराम भुसाल र माओवादीबाट वर्षमान पुन रहेको समिति गठन गरिएको छ।
दुवै समितिले एर्कीकृत पार्टीको जनवर्गीय संगठनको व्यवस्थापन र पार्टीको प्रारमिभक विधान निमार्ण गरी कार्यदललाई बुझाउनेछन्।
एमाले नेता बेदुराम भुसालले दुवै पार्टीको सांगठनिक संरचनाको अध्ययन गरेर दुई समिति गठन गरिएको नेपाल लाइभलाई बताए।
‘दुवै पार्टीको जनवर्गीय संरचना व्यवस्थापन र विधान निमार्णको प्रारम्भिक काम सुरु भएको छ। कार्यदलले प्रारम्भिक रुपमा काम अघि बढाएको छ,’ उनले भने।
दुवै समितिलाई प्रतिवेदन बुझाउन फागुन २२ सम्मको समय दिइएको छ।
वाम गठबन्धनका प्रमुख दुई नेताले कार्यदललाई सहमतीको प्रतिवेदन बुझाउन फागुन २५ सम्मको समय दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।