सुर्खेत- कर्णाली प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने तयारी गरेको छ। मुख्यमन्त्रीमा नियुक्त भएपछि विस्वासको मत लिनका लागि संसदमा प्रस्ताव पेश गर्नेक्रममा आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चाँडै नै सरकारले श्वेतपत्र जारी गर्ने जानकारी दिएका हुन्।
शाहीले प्रदेश सरकारले नीति तथा कार्यक्रमसहित बजेट ल्याउने समय अझै बाँकी रहेकाले अब प्रदेश सरकारले गर्ने काम र प्राथमिकतालाई जनतामाझ जानकारी दिन श्वेतपत्र जारी गर्ने तयारी गरिएको बताए।
उनले प्रदेशको विकास, समृद्धि र जनताको जीवनस्तरमा सुधार ल्याउनका लागि सरकारले गर्नुपर्ने काम र योजनाहरु समेटेर श्वेतपत्र जारी गरिने जानकारी दिएका हुन्।
मुख्यमन्त्री शाहीले तत्कालका लागि अन्य प्रदेशमा भन्दा बढी चुनौती कर्णाली प्रदेशलाई भए पनि सबै मिलेर अघि बढेमा सबै चुनौती पार गर्दै सबैभन्दा समृद्ध र आत्मनिर्भर प्रदेश बनाउन सकिने विस्वास व्यक्त गरे। सत्ता पक्ष र प्रतिपक्षको रुपमा नभई प्रदेशको हितमा सबैसँग हातेमालो गरेर अघि बढ्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।