काठमाडौं- एकीकृत पार्टीको सांगठनिक संरचना तयार गर्न वाम गठबन्धनले बनाएको विधान मस्यौदा तथा संगठनात्मक कार्यदलको बैठक आज बस्दैछ।
नेकपा एमाले पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार दिउँसो बस्ने बैठकले संघीय संरचना अनुसार एकीकृत पार्टीको सांगठनिक स्वरुप तयार गर्ने विषयमा गृहकार्य सुरु गर्नेछ।
काटेश्वरको पेरिसडाडाँमा बसेको कार्यदलको पहिलो बैठकमा दुवै दल एमाले र माओवादी केन्द्रले आ-आफ्नो संगठनका अनुभवहरु आदनप्रदान गर्दै एकीकृत पार्टीको सांगठनिक संरचना बनाउने विषयमा छलफल गरेका थिए।
कार्यदलको अबको बैठकले एकीकृत पार्टीको सांगठनिक संरचनाको विषयमा मिहीन ढंगले छलफल गर्नेछ।
गत फागुन ७ मा पार्टी एकताको औपचारिक निर्णय गरेका वाम गठबन्धनले सांगठनिक र सैद्धान्तिक विषयको प्राविधिक समस्या समाधान गर्न दुई कार्यदल बनाएका थिए।
लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदल र प्रतिवेदन मस्यौदा कार्यदलको संयुक्त बैठकमा वाम गठबन्धनका प्रमुख नेताले फागुन २५ भित्र अन्तिम प्रतिवेदन बुझाउन समय सीमा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।