काठमाडौं– नवनयिुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणपछि उनले गृह मन्त्रालयमा कर्मचारी तथा सुरक्षाकर्मीलाई निर्देशन दिँदै नेपालको सुरक्षाकर्मी र गृह प्रशासनलाई विश्वकै नमूना बनाउने सोच रहेको र त्यसका लागि सहयोग गर्न आग्रह गरेका छन्।
‘सुरक्षाकर्मीलाई एउटा मोडलका रुपमा अघि बढाउनुपर्छ, अरु देशले पनि हाम्रा सुरक्षाकर्मीबाट सिकून्,’ पदभारपछि उनले कर्मचारी र उच्च सुरक्षा अधिकारीलाई निर्देशन दिँदै भने,‘हाम्रा सुरक्षाकर्मी एउटा मोडल बन्न सकुन्। सकारात्मक मोडल बनेर एउटा सन्देस विश्वलाई दिन सकिन्छ, त्यसमा मेरो प्रयास रहनेछ।’
आफूहरुको सामु ऐतिहासिक चुनौती र अवसर प्राप्त भएको भन्दै उनले त्यसलाई सामना गर्न सबैको सहयोग चाहिने बताए।
‘गृह मन्त्रालयमा पूर्व मन्त्रीहरुले यहाँ राम्रा कामहरु पनि गरेर जानुभएको छ,’ उनले भने, ‘गृहमा काम गरेका कर्मचारी र सुरक्षाकर्मीहरुको राम्रा कामको अनुशरण हुनेछ।’
कमजोरीहरु हटाउँदै जाने र पेन्डिङ काम तत्काल अघि बढाउने उनले बताए।
सुधारको काममा आफूलाई सहयोग गर्न आग्रह गर्दै उनले भने,‘गृहमन्त्रीका रुपमा म मन्त्रालयको अभिभावक भएको छु,गृहका सबै सदस्य एउटै परिवार हो।’
कार्यक्रममा मन्त्री थापाले सोभियत संघको प्रसंग उठाउँदै त्यहाँको विकासको गति जस्तै आफू अघि बढ्न खोजेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।