काठमाडौं- जिल्ला अदालत कैलालीले कर्तव्य ज्यान मुद्दामा थुनामा राख्ने आदेश दिए लगत्तै कैलाली क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधिसभा सांसद रेशम चौधरीलाई जेल चलान गरिएको छ।
कैलालीका एसपी विनोद घिमिरेले चौधरीलाई अदालतबाटै पक्राउ गरी कैलाली कारागार चलान गरिएको जानकारी दिए।
न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलाशले चौधरीलाई थुनामा राख्ने आदेश दिएको हो। अदालतको यो आदेशपछि चौधरीले प्रतिनिधिसभा सदस्यका रुपमा सपथ लिन नपाउने भएका छन्।
अभियोग दर्ता भएपछि फरार रहेका चौधरीले करिब २ वर्षपछि आइतबार बिहान जिल्ला अदालतमा आत्मसर्मपण गरेका थिए। उनको आजै बयान भएको थियो, बयानमा उनले टिकापुर घटनामा आफ्नो संलग्नता नरहेको बताएका थिए।चौधरीको इन्कारी बयानपछि छुनछेक बहस भएको थियो। बहसपछि जिल्ला न्यायाधीश भट्टराईले यस्तो आदेश सुनाएका हुन्।
चौधरीको न्यायाधीश भट्टराईको इजलासमा सरकारी वकिलहरुले बयान लिएका थिए। चौधरीको पक्षमा अधिवक्ता गंगाराम पाध्याय, गजेन्द्र केसी र मिलन राईले बहस गरेका थिए। उनीहरुले चौधरी हत्यामा संलग्न नभई आफ्नो फुलबारी होटलमा रहेको दाबी गरेका थिए। उनीहरुले चौधरीको होटल र एफएम समेत नष्ट गरी ज्यानमाथि खतरा बढेपछि फरार रहेको दाबी गरेका थिए। चौधरीका कानुन व्यवसायीले वहशमा क्रममा अदातललाई अटेर गर्ने मनसाय नभई ज्यान बचाउनका लागि फरार भएको तर्क गरेका थिए।
चौधरीलाई अदालतले धरौटीमा रिहा गरेको भए उनले प्रतिनिधिसभाको सांसदका रुपमा फागुन २० गते सपथ लिन पाउने थिए। तर, पुर्पक्षका लागि थुनामा पठाएपछि उनले सपथ लिन नपाउने भएका छन्।
०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। उक्त घटनामा चौधरीलाई मुख्य अभियुक्तका रुपमा सरकारी वकिलको कार्यालय कैलालीले कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो।
घटना लगत्तै फरार रहेका उनले मंसिर २१ को प्रतिनिधिसभामा निर्वाचनमा वारेसनामा मार्फत उम्मेदवारी दिएर विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।