काठमाडौं- वातावरणमैत्री निर्माण सामाग्री उत्पादन गर्ने चिनियाँ कम्पनीले नेपालमा लगानी गर्न इच्छुक रहेको जनाएको छ।
चीनस्थित सानडोग टाइक्सिङ मेसिनरी कम्पनी लिमिटेडले नेपालमा वातावरणमैत्री निर्माण सामग्रीको क्षेत्रमा लगानी गर्न इच्छा प्रकट गरेको हो।
कम्पनीका अध्यक्ष यानपिग झाङको नेतृत्वमा नेपाल आएको सात सदस्यीय टोलीले लगानीको वातावरण भए अर्काे वर्षदेखि नै लगानी थाल्ने जानकारी दिएका छन्।
अध्यक्ष झाङले नेपालमा आफूहरुले वातावरणीय निर्माण सामाग्री उत्पादन गर्ने मेसिनको उत्पादनमा लगानी गर्ने इच्छा रहेको बताए।
‘विकासको मूल आधार नै निर्माण सामाग्री रहेकोले चीनमा जस्तै हामी नेपालमा पनि यही क्षेत्रमा लगानी गर्न चाहन्छौं,’ उनले थपे, ‘त्यसो त हाम्रो कृषि क्षेत्रमा पनि लगानी छ, योसँगै हामी दुवै क्षेत्रमै लगानी गर्न चाहन्छौं।’
चीनमा १५ मिलियन डलर लगानी रहेको कम्पनीले उत्पादन गरेका मेसिनरी सामानहरु भारत, बंगलादेश, नेपाललगायतका १९ भन्दा बढी देशमा निर्यात भइरहेको जनाएको छ।
कम्पनीले विशेष गरेर वातावरणमैत्री निर्माण सामाग्री उत्पादन गर्ने र कृषिमा लगानी गरेको छ।
चीनमा मुख्य कारखाना रहेको कम्पनीको लगानी चीन बाहिरको देशहरुमा रहेको जनाइएको छ।
पछिल्लो समय कम्पनीले आफ्नो लगानीलाई विस्तार गरि रहेको छ। नेपालमा समेत राम्रो सम्भावना रहेकाले लगानी गर्ने इच्छा कम्पनीले देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।