काठमाडौं- कात्तिक ९ गते राति महाराजगञ्जबाट पक्राउ परेका २५ 'भिआइपी जुवाडे'माथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न विशेष अदालतले २० दिन थुनामा राख्ने अनुमति दिएको छ।
जिल्ला प्रशासन कार्यालयबाट जुवा मुद्दामा धरौटीमा छोडेपछि प्रहरीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेको थियो।
२५ 'भिआइपी जुवाडे'मध्ये पहिलो पटक पक्राउ परेकालाई ३० हजार र पटके जुवाडेलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने निर्णय सोमबार जिल्ला प्रशासन कार्यालयले गरेको थियो।
रिहा गर्न आदेश दिएलगत्तै महानगरीय प्रहरी वृत्त महाराजगञ्जले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
सम्पत्ति शुद्धीकरणले छानबिन गर्नुपर्ने भन्दै आफ्नो कार्यालयमा उपस्थित गराउन भनेर पत्र पठाएपछि उनीहरुलाई पक्राउ गरिएको थियो।
पक्राउ परेका २५ जना जुवाडेलाई सम्पत्ति शुद्धीकरण विभाग हुँदै अनुसन्धानको समय लिन विशेष अदालत लगिएको थियो।
सम्पत्ति शुद्धीकरण मुद्दा विशेष अदालतले हेर्ने भएकाले उनीहरुलाई पहिलो पटक म्याद थप गर्न लगिएको थियो।
गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति शुद्धीकरण गराउने कार्य उनीहरुबाट भएको/नभएको बारे अनुसन्धान गर्न विभागका तर्फबाट उनीहरूलाई विशेष अदालतमा मंगलबार पेस गरिएको थियो।
क्यासिनो किङ भनेर चिनिने बलराम सापकोटा ‘बले’ ठेकेदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेष्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ती लामालगायत २५ जना जुवा खेल्दै गर्दा पक्राउ परेका थिए।
उनीहरुका साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ थान तासका सेट बरामद भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।