काठमाडौं– संघीय समाजवादी फोरम नेपाललाई सरकारमा समावेश गराउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारले भोलिसम्ममा टुंगो लगाउने भएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री ओलीले संविधान संशोधनमा आश्वासन दिएको पार्टी पदाधिकारीले नेपाल लाइभलाई जानकारी गराए।
प्रधानमन्त्री ओलीसँग वार्ता गरेर दिउँसो पार्टी कार्यालय पुगेका यादवले पार्टी पदाधिकारीलाई यसबारे जानकारी गराएका थिए। उनको भनाइ उदृृत गर्दै एक पदाधिकारीले भने, ‘प्रधानमन्त्रीले भोलि बेलुकासम्म पार्टी अध्यक्षलाई बोलाएर सरकारमा जाने विषय टुंग्याउने बताउनु भएको छ।’
प्रधानमन्त्री ओलीसँगको वार्तामा आफूले संविधान संसोधनको लिखित प्रस्ताव माग गरेको अध्यक्ष यादवले पार्टी पदाधिकारीलाई जानकारी दिए।
‘मैले प्रधानमन्त्रीज्युलाई संविधान संसोधनको प्रस्ताव लिखित रुपमा चाहियो भन्ने माग गरेको छु। अहिले राष्ट्रपतिले पनि प्रधानमन्त्रीको प्रस्ताव गम्भीर रुपमा हेर्ने अवस्था छ,’ अध्यक्ष यादवले बैठकमा भनेको कुरा उदृत गर्दै ती पदाधिकारीले भने। पदाधिकारी बैठकमा ७ जनाको उपस्थिति थियो।
फोरम नेपालले संविधान संसोधनको विषयमा कुरा मिले सरकारमा जाने बताउँदै आइरहेको छ। यसका लागि फोरमले परराष्ट्र, शिक्षा, सहरी विकाश र सामान्य प्रशासन गरी ४ वटा मन्त्रालय माग गरेको छ। यस्तै, उपराष्ट्रपति र उपसभामुखमध्ये एक पदको दाबी पनि फोरमले गरेको छ।
यादवले सरकारको न्यूनतम साझा कार्यक्रममा पनि आफूले उठाउँदै आएको मधेसको विषय समेटिनुपर्ने माग राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।