सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार विश्वासको मत लिने भएका छन्।
फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले भोलि बस्ने पाँचौ संसद बैठकमार्फत विश्वासको मत लिन लागेका हुन्। संविधानमा मुख्यमन्त्री भएका व्यक्तिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ।
मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको छ। उक्त बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि प्रस्ताव राख्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। उक्त प्रस्तावमाथिको छलफलपछि मतविभाजनमार्फत विस्वासको मत लिइने जनाइएको छ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका शाही नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। त्यसकारण पनि उनलाई विश्वासको मत प्राप्त गर्न समस्या छैन।
सभामा रहेका ४० सांसदमध्ये एमालेका २० र माओवादी केन्द्रका १३ जना छन्। जबकि शाहीलाई २१ सांसदको समर्थन भए मात्र पनि पुग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।