सुर्खेत- कर्णाली प्रदेश सरकारका पदाधिकारीहरुका लागि आवश्यक आवासको खोजी कार्य सुरु भएको छ। प्रदेशसभाका सभामुख, उपसभामुख र मन्त्रीहरुका लागि सरकारी आवासको खोजी गर्न थालिएको हो।
यसका लागि भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीको संयोजकत्वमा समिति नै गठन गरिएको छ। मन्त्रिपरिषद्को निर्णयबाट मन्त्री खत्रीको संयोजकत्वमा पाँच सदस्यीय आवास व्यवस्थापन समिति गठन गरिएको हो। उक्त समितिमा सामाजिक विकास मन्त्रालयका उपसचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव, भवन विभागका इन्जिनियर, मन्त्रालयका अधिकृत सदस्य छन्।
समितिले सुर्खेतमा भएका सरकारी संरचनाहरुको लागत संकलन गर्ने, लागत संकलनपछि तत्काल मन्त्री, सभामुख तथा उपसभामुखको आवासको व्यवस्था गरिने सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।
पदाधिकारीहरुका लागि आवासको पूर्वतयारी नगर्दा अहिले सभामुख, उपसभामुखसहित मन्त्रीहरु होटेल र कोठा भाडामा लिएर बसिरहेका छन्। सभामुख राजबहादुर शाही र उपसभामुख पुष्पा घर्ती आफन्तको घरमा बसिरहेका छन् भने मन्त्रीहरु पनि होटेल, आफन्तको निवास तथा भाडामा कोठा लिएर बसिरहेका छन्।
सभामुख, उपसभामुख र मन्त्रीहरुको आवास व्यवस्थापन गरिसकेपछि सांसदहरुका लागि पनि आवासको व्यवस्थापन गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।