मुम्बई (एजेन्सी)– कानुनी प्रक्रिया पूरा गर्न समय लागेपछि बलिउडकी चर्चित नायिका श्रीदेवीको पार्थिव शरीर भारत फर्काउन ढिलो भएको छ। ५४ वर्षीय सुपर स्टारको शनिबार राति ११ बजे दुबईस्थित इमिरेट्स टावरको बाथरुममा हृदयाघातका कारण निधन भएको थियो।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन दक्षिण भारतका मेगा स्टार रजनीकान्त पनि मुम्बई पुगेका छन्। केही औपचारिक प्रक्रिया पूरा गरेपछि पार्थिव शरीरलाई भारत पठाइने बताइएको छ। भारतीय दूतावासका पदाधिकारीहरू आइतबार बिहानदेखि नै श्रीदेवीको परिवारसँग थिए।
हाल श्रीदेवीको सम्पूर्ण परिवार दुबईमै छन्। उनको पार्थिव शरीरलाई अनिल अम्बानीको निजी विमानबाट मुम्बई फर्काइँदैछ। दुबईको स्थानीय पत्रिका खलिज टाइम्सका अनुसार आइतबार छुट्टीको दिन भएको हुनाले आवश्यक कानुनी प्रक्रिया पूरा गर्न ढिलाइ भएको हो। तर, उनको पोस्टमार्टम रिपोर्ट बाहिर आइसकेको छ। अस्पतालले उनको परिवारलाई मृत्युको सर्टिफिकेट दिइसकेको बताइएको छ।
राति होटलको बाथरुममा अचेत अवस्थामा भेटिएकी श्रीदेवीलाई रशीद अस्पताल पुर्याइएको थियो। जहाँ उनको निधन भइसकेको अस्पतालले पुष्टि गर्यो। श्रीदेवी आफ्नो नन्दको छोरा तथा युवा अभिनेता मोहित मारवाहको विवाह समारोहमा भाग लिन परिवारसहित दुबई गएकी थिइन्।
उनी केही दिनदेखि निकै व्यस्त थिइन्। जसका कारण उनमा थकाइ महसुस गर्न सकिन्थ्यो। मोहितको विवाह अनिल अम्बानीकी श्रीमती टिनाको बहिनीको छोरीसँग भएको हो। दुबईमा श्रीदेवीलाई हृदयाघात भएको समाचार सुनेपछि उनका प्रशंसक अस्पताल परिसरबाहिर जम्मा भएका थिए। उनको अन्तिम संस्कार जुहुको पवन हंस मुक्तिधाममा हुनेछ। उनलाई भावपूर्ण बिदाई गर्न बलिउडकर्मीहरू आज मुम्बईमा जम्मा हुँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।