काठमाडौं– नेकपा एमालेबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा महासचिव ईश्वर पोखरेलसहित प्रदीप ज्ञावली, भानुभक्त ढकाल, प्रेम आले, रघुवीर महासेठ र हृदयेश त्रिपाठी मन्त्री हुने लगभग निश्चित भएको छ।
ईश्वर पोखरेलले अर्थ मन्त्रालय, प्रदीप ज्ञावली परराष्ट्र, भानुभक्त ढकाल सञ्चार, प्रेम आले पर्यटन, रघुवीर महासेठ भौतिक योजना र हृदयेश त्रिपाठीले स्वास्थ्य मन्त्रालय पाउने सम्भावना बलियो छ।
प्रधानमन्त्री ओलीले एमालेबाट लालबाबु पण्डित र थममाया थापालाई यसअघि नै मन्त्री नियुक्त गरिसकेका छन्। एमाले स्रोतका अनुसार मन्त्री मण्डल विस्तार गर्ने सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता सकिएपछि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आइतबार राति वार्ताका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री ओलीसँग उनको वार्ता मिले परराष्ट्र मन्त्रालय ज्ञावलीको सट्टा यादवलाई जाने सम्भावना छ।
‘प्रधानमन्त्री ओलीले उपेन्द्र यादवजीलाई सरकारमा समावेश गराउन पहल गरिरहनु भएको छ। यादवसँग आज टुंगो लागे केही मन्त्रालय परिवर्तन हुन सक्छ,’ एमाले स्रोतले नेपाल लाइभलाई भन्यो।
माओवादी केन्द्र रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा सरकारमा समावेश हुँदैछ। गृह मन्त्रालय कसलाई दिने भन्ने विषयमा माओवादीले ठोस निर्णय गर्न नसक्दा आइतबार हुने भनिएको मन्त्री मण्डल बिस्तार सोमबारका लागि सारिएको छ।
सोमबार दिउँसो २ बजे राष्ट्रपति विद्यादेवीप् भण्डारी समक्ष नयाँ बन्ने मन्त्रीहरूको सूची जाने र ३ बजे सपथ ग्रहण हुने एमाले स्रोत बताउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।