काठमाडौं– फिल्म ‘मञ्जरी’ र ‘गाजा बाजा’ का निर्देशक गणेशदेव पाण्डेले आफू सेन्सर बोर्डको विरोधमा रहेको बताएका छन्। आइतबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले सेन्सर बोर्डले चलचित्र निर्मातालाई अनावश्यक दुःख दिने गरेको बताएका हुन्। सेन्सर बोर्डले फिल्म रोक्ने भन्दा फिल्मलाई कस्ता दर्शकले हेर्छन् भन्ने ग्रेडिङ गर्नुपर्ने पाण्डेको तर्क थियो।
पाण्डे निर्देशित ‘गाँजा बाजा’ फिल्ममा गाँजाको शव्दको प्रयोग भएको भन्दै लामो समय विवादमा तानिएको थियो। अहिले फिल्म फागुन २५ बाट रिलिजको तयारीमा छ।
नामका कारण लामो समय चलचित्र विकास बोर्डमा दर्ता हुन नसकेको यो फिल्मको सुटिङ भने निरन्तर भइरहेको थियो।
बोर्डले फिल्मको नाम दर्ता गर्न नपाएको अवस्थामा निर्देशक पाण्डेले सर्वोच्च अदालतको ढोका ढकढकाएका थिए। फिल्म निमार्ण युनिट र विकास बोर्डबीच आन्तरिक सहमति भएपछि अदालतबाट मुद्दा फिर्ता लिएको पाण्डेले नेपाल लाइभलाई बताए।
अहिले फिल्मको गीत र ट्रेलर सार्वजनिक भइसकेको छ। ‘सेन्सर बोर्डले फिल्मलाई प्रदर्शनका लागि अनुमति दिन्छ, दिँदैन टुंगो लागेको छैन। त्यही पनि हामीले फागुन २५ को तिथि राखेका छौं,’ उनले भने।
फिल्म निर्माता दीपेन्द्र रेग्मी फिल्मबाट निकै आशावादी देखिएका छन्। उनले गाँजा सेवन गर्न सन्देश दिने फिल्म आफूले नबनाएको भन्दै समाज कतातिर जाँदै छ, त्यो देखाउन खोजेको बताए।
‘विशेष त युवाको यथार्थ कथालाई चित्रण गर्न खोजेका छौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।