काठमाडौं- ला लिगा अन्तर्गत शनिबार राति सेल्टा भिगोविरुद्धको खेलमा बार्सिलोना कप्तान लियोनल मेस्सीले सेटपिसमार्फत नै ह्याट्रिक पूरा गरे। ला लिगामा ३४ औँ ह्याट्रिक गरेका उनले क्रिष्टियानो रोनाल्डोको कीर्तिमानमा बराबरी गरे।
रियल मड्रिडबाट ला लिगामा खेल्दा क्रिष्टियानो रोनाल्डोले ३४ ह्याट्रिक गरेर कीर्तिमान बनाएका थिए। सेल्टा भिगोविरुद्ध मेस्सीले ३४ औँ ह्याट्रिक गर्दै कीर्तिमानमा बराबरी गरेका हुन्।
खेलको २३ औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता बनाएका मेस्सीले ४६ औँ मिनेटमा र ४८ औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। सेल्टाभिगोका लागि लुकास ओलाजाले ४२ औँ मिनेटमा फ्रिकिकमार्फत नै गोल गरेका थिए। सर्जियो बुस्केट्सले ८५ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई ४–१ को जित दिलाएका हुन्।
६१ प्रतिशत समय बलमा नियन्त्रण बनाएको बार्सिलोनाले खेलभर सेल्टाभिगोलाई दबाबमा राखेको थियो। जितसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा नै छ। १२ खेलमा ८ मा जित, १ बराबरी र ३ खेल हारेको बार्सिलोनाको २५ अंक छ। रियल मड्रिडको २५ अंक नै भए पनि गोल भिन्नताका कारण दोस्रो स्थानमा रहेको हो।
यसअघि ला लिगामा लेभान्टेसँग ३–१ ले हारेर बार्सिलोना दबाबमा परेको थियो। १ गोलले अघि रहेको अवस्थामा पनि ७ मिनेटमा ३ गोल खाँदै हार्न पुग्नुले प्रशिक्षक एर्नेस्टो भालभर्देले पनि ठूलो आलोचना खेपेका थिए। उनको राजीनामाको माग गर्दै सामाजिक सञ्जालमा उठिरहेका आवाजहरु च्याम्पियन्स लिगमा स्लाभिया प्राहासँगको बराबरीले झनै बढेको थियो।
सेल्टा भिगोविरुद्धको खेलमा घाइते भएका नेल्सन सेमेडो कम्तिमा पाँच हप्ताका लागि मैदानबाहिर हुने भएका छन्। लेफ्टब्याक खेलाडी जोर्डि अल्बा पनि घाइते अवस्थामा नै रहेकाले बार्सिलोना दबाबमा परेको छ। उनले ला लिगा र च्याम्पियन्स लिगमा गरेर लेगानेस, बोरुसिया डर्टमुन्ड, एथ्लेटिको मड्रिड,
रियल मालोर्का र इन्टर मिलान र रियल सोसिडाड जस्ता महत्वपूर्ण टिमसँगको खेल गुमाउने छन्। सेमेडो यो सिजन ला लिगाका सबै खेलमा मैदानमा नै थिए।
खेलपछि प्रशिक्षक भालभर्देले मेस्सी रहँदासम्म सबै कुरा सम्भव हुने प्रतिक्रिया दिए। कमजोर व्यवस्थापनको आलोचना खेपिरहेका उनलाई गएको सिजन पनि मेस्सीकै बलमा मात्रै ला लिगा जितेको आरोप लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।