मुम्बई – भारतीय चलचित्र जगत बलिउडकी एकजना चर्चित अभिनेत्री श्रीदेवीको गएराति निधन भएको छ। श्रीदेवी संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति निधन भएको हो।
उनको निधनको समाचारले भारतीय सिने जगतका साथै उहाँलाई मनपराउने सर्वसाधारण सबै नागरिक स्तब्ध भएका छन् । साथै यस निधनप्रति भारतका चलचित्रकर्मी र शुभचिन्तकहरुले शोक व्यक्त गरेका छन्।
चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी श्रीदेवी ५४ वर्षको मात्र थिइन् । उनका मिस्टर इण्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे, खुदा गवाह, जुदाईजस्ता निकै चर्चित तथा व्यावसायिकरुपमा सफल चलचित्र हुन्।
उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो।
चर्चित अभिनेत्री श्रीदेवी बालकलाकारको रूपमा चार वर्षको उमेरदेखि नै एक तमिल चलचित्रबाट कला जगतमा प्रवेश गरेकी थिइन्।
उनले आफ्नो कलाकारिता व्यवसायको सुरुवातका समयमा बालकलाकारकै रूपमा तेलुगु र मलयालम भाषाका चलचित्रहरूमा पनि अभिनय सुरु गर्नुभएको समाचारमा जनाइएको छ।
श्रीदेवीले सन् १९७९ मा मुख्य नायिकाकै रुपमा बलिउड चलचित्र ‘सोलहवा साल’ बाट अभिनय शुरू गरेकी थिइन्।
उनले सन् १९९७ मा जुदाई नामक चलचित्रमा अभिनय गरेपछि केहीवर्ष चलचित्रमा देखा नपरेपछि उनी किन सो क्षेत्रमा नआएको भन्ने बारेमा निकै ठूलो चर्चा चलेको थियो ।
यसैबीच उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ । उहाँले लोकप्रिय कलाकार श्रीदेवीको निधनबाट भारतलाई बलिउड क्षेत्रमा ठूलो क्षति भएको बताएका छन्।
प्रधानमन्त्री मोदीले आइतबार बिहान ट्वीटगर्दै श्रीदेवीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरे।
त्यसैगरी बलिउडकी अर्की चर्चित अभिनेत्री प्रियंका चोपडाले पनि ट्वीटगर्दै आफूसँग श्रीदेवीप्रति श्रद्धाञ्जलि अर्पणगर्न कुनै शब्द नै नभएको भन्दै आफूलाई ठूलो शोक परेको बताएकी छिन्।
उनले श्रीदेवीको निधनले भारतीय चलचित्र क्षेत्रलाई निकै ठूलो र अपुरणीय क्षति पुगेको बताइन्।
भारतीय चलचित्र क्षेत्रका अर्का एकजना चर्चित नायक अक्षयकुमारले पनि उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
भारतीय कलाकारिता क्षेत्रका हजारौँ व्यक्तिले श्रीदेवीको निधनले बलिउड क्षेत्र नै शोकमा डुबेको र देशलाई ठूलो क्षति पुगेको अभिव्यक्ति दिइरहेका छन् ।
त्यसैगरी भारतका दशौँ लाख नागरिकले सामाजिक सञ्जालहरुमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पणगर्दै श्रीदेवीको निधनले विश्वमा नै चर्चित भारतको बलिउड क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् । रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।