काठमाडौं- माउ पार्टीलाई नेता उत्पादन गर्ने ‘कारखाना’ का रुपमा प्रचारित नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ अहिले दिशा र उदेश्यविहीन छ।
पार्टीको प्रत्यक्ष हस्तक्षेप, संस्थाका पदाधिकारीको अर्कमन्यता, पदलोलुपता र गुटको चलखेलले गर्विलो इतिहास बोकेको संगठन गन्तव्यविहीन हुन पुगेको हो। पञ्चायतजस्तो निरंकुश व्यवस्थालाई नै चुनौती दिएर अदालतमार्फत क्रियाशील हुने अवसर त्यतिबेलाको बागी नेविसंघ अहिले आफ्नो पार्टीकै सामु निरिह बन्दै गएको छ।
राजा महेन्द्रले पञ्चायती व्यवस्थाको सुरु गरेपछि बहुदलीय व्यवस्था स्थापनार्थ मूल पार्टी कांग्रेसलाई सहयोग गर्ने गरी नेविसंघको स्थापना भएको थियो। नेताहरु जेल तथा निर्वासनमा भएको समय आन्दोलनलाई उर्जा र निरन्तरता दिन नेविसंघले महत्त्वपूर्ण भूमिका खेल्यो।
राजनीतिक दलमाथिको प्रतिबन्धका विरुद्धमा स्वतन्त्र विद्यार्थी युनियनको आवश्यकता महसुस २०१७ सालपछि गरिएको थियो। जनकपुर अञ्चलका ६ जिल्लाबाट काठमाडौं आएर अध्ययनरत विद्यार्थीहरुले २०१९ सालमा ‘गौरी शंकर छात्र समिति’गठन गरे। जनकपुर अञ्चलका विद्यार्थीहरुले गठन गरेको छात्र समितिको सिको अन्य अञ्चलबाट आएका विद्यार्थीहरुले पनि सुरु गरे।
कांग्रेस संस्थापक नेता सुर्वण शमशेरले विद्यार्थीहरुलाई आवश्यक सल्लाह दिने गर्दथे। प्रजातन्त्रवादी विद्यार्थीको संगठन आवश्यकता रहेको राय सुर्वण शमसेरले सुनाए। उनकै परामर्श बमोजिम कांग्रेस निकटका विद्यार्थीहरु एकत्रित हुन पुगे। नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष बिपिन कोइराला स्मरण गर्छन्, ‘नेविसंघ गठनमा सुवर्ण शमशेरको विशेष चासो थियो।’
निधिबाट ‘टिके प्रथा’ सुरुवात
२०२७ बैशाख ६ गते स्वयम्भूको सतलमा नेता कृष्णप्रसाद भट्टराईबाट उद्घाटित पहिलो महाधिवेशनमा बिपिन कोइराला संस्थापक सभापति बने। मार्सलजुलुम शाक्यलाई कोइरालाले एक मतले पराजित गरेका थिए।
पञ्चायती व्यवस्था विरुद्ध कार्य गरेको आरोपमा कोइरालालाई तत्कालीन सरकारले पक्रेर जेल पठायो। उनी तीन वर्ष जेल बसे। जेलमा रहेकै समय उनकै निर्देशनमा दोश्रो अधिवेशन भयो। हालका सभापति शेर बहादुर देउवा तत्कालीन समयमा नेविसंघ सभापति बने। कोइराला जेल परेपछि उनको कार्यकाल नसकिँदै २०२८ भाद्रमा दोश्रो अधिवेशन भएको थियो।

२०३६ सालको फागुनसम्म देउवाले पद छोडेनन्। दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका देउवा ८ वर्षसम्म पदमा रहे। राजनीतिक व्यवस्थाका कारण समयमै तेश्रो महाधिवेशन गरी पद हस्तान्तरण गर्न नसकिएको देउवाको जिकिर थियो। संस्थापक नेता कोइराला भन्छन्, ‘प्रतिकुल समयमा संगठन बनेको हो। अलि अलि धरपकड त हुन्थ्यो। म जेल बसेरै दोश्रो महाधिवेशन गराएको हुँ। देउवाले महाधिवेशन गराउन चाहनुभएन।’
२०३६ सालमा जनमत संग्रहको अवसर पारेर तेश्रो महाधिवेशन जनकपुरमा भएको थियो। २०३६ साल फागुनमा भएको तेश्रो महाधिवेशनबाट हालका उपसभापति विमलेन्द्र निधि सभापति बने।
२०३६ पछि नेविसंघमा सभापति बनाउँदा ‘टिके प्रथा’ सुरु गरियो। बिपीबाट नै नेविसंघमा टिकेप्रथा सुरु गरेको संघका संस्थापक सभापति कोइरालाको दाबी छ। उनले भने, ‘बीपीले नै विमलेन्द्र निधिलाई पहिलो टिके सभापति बनाउनु भएको हो।’
महेन्द्रनारायण निधिको छोरा हुनु र मधेसको ‘सेन्टिमेन्ट क्याच’ गर्नलाई बिपीले विमलेन्द्र निधिलाई सभापति तोकेको हुनसक्ने नेविसंघका पूर्व सभापति प्रदीप पौडेलको आंकलन छ। चौथो, पाचौं, छैठो सभापति पनि निधिकै बाटोबाट नेताहरुबाट मनोनित भए।
२०३९ को असारबाट चौथो सभापति बनेका ज्ञानेन्द्र बहादुर कार्की, २०४० को चैतमा पाँचौ सभापति बनेका बल बहादुर केसी र २०४४ पुसमा सभापति बनेका बालकृष्ण खाँड ‘टिके सभापति’ हुन्।
२०४४ सालमा छैठौं महाधिवेशन हुँदै गर्दा प्रशासनको हस्तक्षेप पछि खाँडलाई मनोनयन गरिएको थियो। निधिलाई बिपीले ‘टिके’ सभापति बनाए भने कार्की, केसी र खाँडलाई तत्कालीन नेता गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले आपसी सल्लाहमा बिना महाधिवेशन जिम्मेवारी दिए।
पञ्चायतकालमा मात्रै ३ महाधिवेशन भए। नेतृत्व हस्तान्तरण गर्ने क्रममा अन्यलाई बिना महाधिवेसन जिम्मेवारी सुम्पिएको थियो।
सातौं सभापति एनपी साउद २०४८ असोजमा सभापति बने। उनी निर्वाचित सभापति भए। उनीपछि पुनः टिके प्रथा सुरु भयो। आठौं र नवौं सभापति पनि नेताहरुले मनोनित गरे। २०५२ जेठमा आठौं सभापति बनेका धनराज गुरुङ र २०५३ पुसमा नवौं सभापति बनेका गोविन्द भट्टराई पनि मनोनित सभापति हुन्। साउदले २०५१ मा गर्न लागेको महाधिवेशन बिथोलिएको थियो। महाधिवेशन प्रतिनिधि विवादले आठौं महाधिवेसन हुन नसकेपछि २०५२ मा गुरुङ मनोनित सभापति बनेका थिए।
अहिले पार्टी प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्मा संघको दशौं सभापति बने। शर्मा २०५७ माघमा सभापतिमा निर्वाचित भएका थिए। एघारौं र बाह्रौ क्रमशः गुरुराज घिमिरे र प्रदीप पौडेल निर्वाचित सभापति बने।
किशोरसिंह राठोर, महेन्द्र शर्मा, केशव सिंह र रञ्जीत कर्ण महाधिवेशनमार्फत नभई मनोनितको बाटोबाट संघको प्रमुखको भुमिकामा पुगे। निर्वतमान सभापति नैनसिंह महर ११ औं महाधिवेशनबाट चुनिँदै गर्दा महाविधेशन भनिए पनि पार्टीका गुटलाई पदाधिकारी भागबण्डा गरिएको थियो। पार्टी फुटपछि देउवा निकट नेविसंघकाे सभापतिमा कल्याण गुरुङ २०६४ मा निर्वाचित भएका थिए।
४९ वर्षको इतिहास बोकेको नेविसंघमा हालसम्म १८ सभापति बनेका छन्। तीमध्ये सात सभापति तदर्थ समितिबाट छानिएका छन्।
‘पार्टीले निर्वाचन गर्नै दबाब दिए कसैले पनि म्यानुपुलेट गर्न सक्दैन’, पूर्व अध्यक्ष पौडेल भन्छन्, ‘नेविसंघको हकमा बढी म्यानुपुलेसन हुँदै आएको छ। प्रक्रियागत रुपमा नेतृत्वले महाधिवेशन हुन दिए नियमित महाधिवेशन हुन्छ।’
पार्टी प्रवक्ता रहेका विश्वप्रकाश शर्मा मात्रै एक सभापति हुन् जसले निर्वाचित भएको दुई वर्षे कार्यकालभित्रै महाधिवेशन गरी नेतृत्व सुम्पेका थिए। ०५७ साल माघमा आठौँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शर्माले ०५९ सालको माघमा नवौँ महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए।
संस्थापक सभापति कोइराला सुशील कोइरालाको समयबाट संघलाई तदर्थवादमा सञ्चालन गर्न लागिएको बताउँछन्। उनी भन्छन्, ‘सुशीलको गलतको कार्यलाई देउवाले विरासतको रुपमा थामे।’
२५ बाट ५२ वर्ष?
गत साता केन्द्रीय समितिको बैठक सुरु हुनुअघि संघका एक समूहका कार्यकर्ताले नाराबाजी गरिरहेका थिए। उमेर हद (३२ वर्ष) सहितको विधान अब बन्ने तदर्थ समितिबाट प्रारम्भ हुनुपर्ने उनीहरुको माग छ। ३२ वर्षको उमेर अघि नै संघको कार्यभार सम्हालेका नेताको फोटो प्रर्दशन गरेका विद्यार्थीहरुले पार्टी सभापति देउवाको फोटो पनि देखाए। देउवा २५ वर्षको उमेरमा संघको सभापति बनेका थिए।
२५ वर्षको उमेर संघको सभापति बनेका देउवाले ५२ वर्ष उमेरका व्यक्तिलाई संघको तदर्थ समितिमा ल्याउन लागेको प्रति उनीहरुको आपत्ति थियो। २५ वर्षमा सभापति बनेका देउवाले उक्त अंकको विपरित हुने ५२ वर्षलाई अंगालेको उनीहरुको व्यङ्य थियो। सभापति देउवाले राजीव ढुङ्गानालाई तदर्थ समितिको सभापति बनाउने चर्चा छ। ढुङ्गाना आफ्नो उमेर ५२ वर्ष भएको मान्न तयार छैनन्। पार्टी सभापति देउवा निवासमा भेटिएका उनले भने, ‘साथीहरुले उमेर बढाइदिनुभएको छ। मेरो वास्तविक उमेर उहाँहरुले (आन्दोलनरत विद्यार्थी समूह) भने जति छैन।’

संस्थापक अध्यक्ष कोइराला २६ वर्षमा संघको सभापति बनेका थिए। त्यसलगत्तै संघको सभापति बनेका देउवा २५ वर्षमै जिम्मेवारी सम्हालेका थिए। विमलेन्द्र निधिले २३ वर्षमा, ज्ञानेन्द्र बहादुर कार्कीले २४ वर्षमा, बल बहादुर केसीले २६ वर्षमा, बालकृष्ण खाँडले २७ वर्षमा संघको सभापति बनेका थिए।
त्यस्तै, एनपी साउदले २८ वर्षमा, गोविन्द भट्टराई ३२ वर्षमा, विश्वप्रकाश शर्मा ३० वर्षमा, किशोर सिंह राठोर ३३ वर्षमा, गुरुराज घिमिरे ३१ वर्षमा सभापति बनेका थिए। समयक्रमसँगै संघको सभापतिको पदभार ग्रहण गर्ने उमेर बढ्दै गएको छ।
महेन्द्र शर्माले ३४ वर्षमा संघको सभापतिमा पुगे। केशव सिंह ३५ वर्षमा, प्रदीप पौडेल ३० वर्षमा, कल्याण गुरुङ ३७ वर्षमा, रञ्जित कर्ण ३६ वर्षमा र निर्वतमान नैनसिंह महर संघको सभापति हुँदा सबैभन्दा बढि ४१ वर्ष उमेर पुगेका थिए।
भ्रातृ संस्थाको विधानमा पार्टीको हस्तक्षेप हुन लागेसँगै संस्थामा विसंगति बढेको पूर्व अध्यक्ष पौडेलको बुझाइ छ। भ्रातृ संस्थालाई ‘पङ्गु’ बनाउने कार्य मुख्यतः २०४८ सालपछि भएको उनी बताउँछन्। संघलाई विधान सम्मेलन गर्ने परम्परालाई रोकेसँगै विकृति झन् बढेको संघका कार्यकर्ताको ठहर छ।
नेता उत्पादन गर्ने ‘कारखाना’
पार्टी सभापति देउवा संघको दोश्रो सभापति हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल संस्थापक सदस्य हुन्। पार्टी उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, एनपी सावद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, गुरुराज घिमिरे, कल्याण गुरुङ, प्रदीप पौडेल नेविसंघ अध्यक्ष बनेर पार्टीमा आएका हुन्।

महामन्त्री पूर्णबहादुर खड्का र मिनेन्द्र रिजाल संघको उपाध्यक्ष बनेका नेता हुन्। वर्तमानमा उपल्लो तहमा पुग्ने नेताहरुमा संघको महामन्त्री भूमिकालाई निर्वाह गरी आएका आधा दर्जन नेता छन्। नेताहरु डा रामशरण महत, प्रकाशशरण महत, दिलबहादुर घर्ती, चन्द्र भण्डारी, गगन थापा लगायतका नेता महामन्त्री भएर पार्टी नेतृत्व आएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।