एजेन्सी- बेलायती लेखक तथा पत्रकार आतिश अली तासिरले भारतीय मुलका विदेशीलाई दिइने ओभरसिज सिटिजन अफ इन्डिया (ओसिआई) कार्ड भारत सरकारले खोसि दिएको बताएका छन् । कुटिल योजना अनुसार आफ्नो ओसिआई कार्ड रद्द गरिएको उनले आरोप लगाएका छन्।
केही समयअघि तासिरले अमेरिकी चर्चित म्यागेजिन ‘टाइम’मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘इन्डियाज् डिभाइडर इन चिफ’ अर्थात् ‘महाविभाजनकारी’ भन्दै एक लेख लेखेका थिए। कतिपयले यहि लेखलाई उनको ओसिआईको प्रमाणपत्रको खारेजीसँग पनि जोडेर हेर्न थालेका छन्।
बिहीबार भारतीय गृह मन्त्रालयले आतिशले आफ्नो बुबा पाकिस्तानी मूलका हुन् भन्ने विवरण लुकाएको भन्दै उनको ओसिआईको प्रमाणपत्र रद्द गरिदिएको थियो। तर आतिशले भने आफूलाई जवाफ दिनका लागि पर्याप्त समय नदिई प्रमाणपत्र रद्द गरिदिएको दाबी गरेका छन्। उनका बुबा सलमान तासिर पाकिस्ताका उदारवादी नेता थिए।
उनलाई उनकै अंगरक्षकले इशनिन्दा (ईश्वरको निन्दा) कानुनको विपक्षमा बोलेको भन्दै गोली हानी हत्या गरेका थिए। तासिरकी आमा भारतकै एक चर्चित पत्रकार तवलिन सिंह हुन्।
ओसिआई कार्डले भारतीय मूलका विदेशीहरुलाई भारत आएर भारतमै रही काम गर्ने अधिकार प्रदान गर्दछ। तर, उनीहरुलाई भोट दिने र संवैधानिक पद प्राप्त गर्ने जस्ता अन्य अधिकार भने हुँदैन।
फैसलाप्रति आसिफको प्रतिक्रिया
आसिफ अली तासिरले बिबिसी संवाददाता सौतिक विश्वासलाई आफ्नो ओसिआई कार्ड रद्द गरिएको फैसलाबाट निकै ठूलो चोट पुगेको बताए। उनी भन्छन्, ‘धेरै नै कुटिल सोचले यो योजना बनाइएको छ।’
‘पहिला उनीहरुले उनीहरुकै एक व्यक्तिबाट मलाई‚ ‘उग्र इस्लामी’ भन्न लगाएर मेरो छवि खराब गराए त्यसपछि यही घटनालाई मिडियामा लिक गराए‚’ उनले भने। आसिफले बताए अनुसार उनीसँग सन् २००० देखि नै ओसिआई कार्ड छ। आसिफ २ वर्षदेखि १० वर्षसम्म र २६ वर्षदेखि ३५ वर्षको उमेरसम्म भारतमै रहेका थिए। उनीसँग भारतकै बैंकमा खाता र आफ्नै आधार कार्ड भएको भन्दै भारतमा आफूले ट्याक्स पनि बुझाउँदै आएको बताए।
‘मेरो बुबाको नाम यी कागजातहरूमा लेखिएको छ। मसँग यिनलाई प्रमाणित गर्ने अन्य कुनै पनि प्रमाण छैन किनकि हामीबिच कुनैपनि सम्पर्क नै थिएन। आमा पनि उहाँसँग छुट्टिएर बस्नुभएको थियो‚’ उनले भने। उनले आफ्नो बुबासँगको सम्बन्धको बारेमा विस्तृत रुपमा एक किताबमा लेखेका थिए जुन सन् २००७ मा प्रकाशित भएको थियो।
उनका आमा र बुबाको विवाह नभएकोले कानुनतः आमा नै अभिभावक भएको कुरा आसिफले आफ्नो जवाफमा लेखेका छन्।
‘यदि मेरो बारेमा कुनै भ्रम थियो भने मसँग सोध्न सकिन्थ्यो किनकी उनीहरुलाई थाहा थियो कि मैले जानेरै पनि केहि गलत गरेको छैन। आफ्नो बुबाको नाम लुकाउने कुरै उठ्दैन। ‘मेरो बुबाको नाम कागजातमा उल्लेख छ र म उहाँका बारेमा लेख्दै पनि आएको छु‚’ उनले भने।
घटना के थियो?
घटनाको सुरुवात बिहीबार अंग्रेजी न्युज वेबसाइट ‘द प्रिन्ट’को एक लेखबाट भएको थियो जसमा ‘भारतीय सरकार टाइम पत्रिकामा मोदीको आलोचनाबारे लेखिएको लेखलाई लिएर तासिरको ओसिआई कार्ड रद्द गर्ने बारे विचार गरिरहेको छ‚’ भनी लेखिएको थियो। ‘टाइम’को यो वर्षको मे महिनाको अंकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर तासिरले एक लेख लेखेका थिए।
म्यागेजिनको अन्तर्राष्ट्रिय संस्करणको आवरण पृष्ठमा छापिएको उक्त लेखको शीर्षकमा नरेन्द्र मोदीको तस्बिर राखी‚‘इन्डियाज् डिभाइडर इन चिफ’ अर्थात् ‘महाविभाजनकारी’ लेखिएको थियो। त्यतिबेला भारत लोकसेवा निर्वाचनमा थियो। यसै लेखलाई लिएर भारतमा धेरै विवाद पनि चुलिएको थियो। तर‚ ‘द प्रिन्ट’को यो स्टोरीमा आपत्ती जनाउँदै गृह मन्त्रालयका प्रवक्ताले बिहिबार राति आफ्नो ट्विटरमा यसलाई ‘गलत हो’ भनेका छन्।
उनले ‘द प्रिन्ट’मा आएको रिपोर्ट पूर्णरुपमा गलत भएको र कुनै पनि तथ्यका आधारमा नभएको बताएका छन्। यसअघि पनि गृह मन्त्रालयका प्रवक्ताले आफ्नो ट्विटर ह्यान्डलमा केही ट्विट गरेका थिए। यिनै ट्विट्मध्ये एक ट्विटमा ‘आतिश अलीले पिआइओ आवेदन दिनेबेलामा आफ्ना बुबा पाकिस्तानी मुलको भएको कुरा लुकाएका थिए’ भनी भनिएको छ।
ट्विटमा तासिरलाई उनको ओसिआई कार्डको सम्बन्धमा जवाफ दिने मौका दिइएको तर उनी उक्त कार्यमा असफल रहेको उल्लेख गरिएको छ।
आतिशले गरे खण्डन
आतिश अली तासिरले गृह मन्त्रालयको कुरालाई गलत बताउँदै एउटा तस्विर समेत ट्विट गरेका छन् । ‘यो साँचो होइन। मेरो जवाफमा काउन्सिल जनरलको स्वीकृति छ,’ गृह मन्त्रालयका प्रवक्ताको ट्विटलाई खण्डन गर्दै उनले लेखेका छन्, ‘मलाई जवाफ दिनका लागि २१ दिन दिनुपर्नेमा २४ घण्टाको समय दिइयो। त्यसपछि मन्त्रालयको तर्फबाट मलाई कुनै पनि सुचना मिलेको छैन्।’
तासिरले ट्विटका साथसाथै आफ्नो मेलबक्सको एक तस्बिर पनि पोस्ट गरेका छन् जहाँ भारतीय गृह मन्त्रालयबाट प्राप्त एउटा पत्रको विषयमा आफ्नो जवाफ दिएका छन्। साथसाथै डेपुटी काउन्सिल जनरलको एक मेलमा यही जवाफ प्राप्त गरेको उल्लेख समेत गरेका छन्।
यसको लगभग दुई घण्टापछि आफ्नो ओसिआई कार्ड रद्द भएको सूचना ईमेलको ‘स्क्रीनसट’ सेयर गरेका थिए। यसमा विभिन्न नियम उद्धत गरी ओसिआई प्रमाणपत्र रद्द गर्ने सूचना दिँदै न्यूर्योकस्थित भारतीय महावाणिज्य दूतावासमा ओसिआई कार्ड बुझाउनका लागि भनिएको छ।
‘मलाई यो प्राप्त भएको केही घण्टाअघिसम्म पनि गृह मन्त्रालयले उनीहरूलाई मैले दिएको जवाफको बारेमा थाहा नभएको स्वीकार गरेको थिएँ तर जब गृह मन्त्रालय बन्द थियो तब उनीहरू मेरो यस घटनाको समीक्षा उचित अधिकारीबाट गराएर मेरो ओसिआई प्रमाणपत्र रद्द गर्नमा सफल भएका छन्,’ उनले त्यसमा लेखेका छन्।
बिबिसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।