काठमाडौं- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ११ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। प्रदेशस्तरीय बैठकबाट मुख्यमन्त्री राउतले प्रदेश २ मा सुशासन कायम गर्न ११ प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
प्रतिबद्धताको पहिलो बुँदामा प्रदेशभित्र पूर्ण रुपमा सुशासन कायम गर्दै भ्रष्टाचारविरुद्ध शून्य सशनशीलता अपनाइने उल्लेख छ। मुख्यमन्त्री राउतले नीतिगत रुपमा गरिने भ्रष्टाचार स्वीकार्य नहुने बताउँदै प्रदेशको दैनिक प्रशासनमा ढिलासुस्ती नसहने बताएका छन्।
उनले प्रदेशका सेवाग्राही जनतालाई सरकारी कर्मचारीले २४ घण्टाभित्र काम पूरा गर्नुपर्ने र पूरा हुन नसक्ने कामको न्यायोचित कारण सेवाग्राहीलाई दिनुपर्ने उल्लेख गरेका छन्।
प्रदेशका जनताले इमेल र विद्युतीय माध्यमबाट आफ्ना गुनासा मुख्यमन्त्रीकोक्ष कार्यालयमा टिपाउन सक्ने र जनताको गुनासोमा तत्काल कारबाही गरिने मुख्यमन्त्री राउतले प्रतिबद्धता जनाएका छन्।
मुख्यमन्त्रीले सार्वनजिक गरेको प्रतिबद्धतामा प्रदेशको कालाबजारी र महँगी नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन गरिने उल्लेख छ। यसैगरी उनले अनियन्त्रित र अवैध रुपमा भइरहेको मदिरा बेचबिखन तथा सेवनलाई आवश्यक नीति बनाई नियन्त्रण गर्ने जनाएका छन्। वन्यजन्तु तस्करी, प्राकृतिक स्रोत साधनको दोहन र वन फडानी कार्यलाई तत्काल रोकिने प्रतिबद्धता मुख्यमन्त्रीले गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।