काठमाडौं- गोरखाको चर्चित फुजेल हत्या काण्डमा चितवन जिल्ला अदालतले कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला दाजु नुरप्रसाद अधिकारी र अनुसन्धानका क्रममा साक्षी रहेका केही स्थानीयलाई झिकाउने आदेश गरेको छ।
आइतबार जिल्ला अदालत चितवनले उनीहरुसँगको बयानपछि मुद्दा अन्तिम सुनुवाईका लागि अघि बढाउने भन्दै यस्तो आदेश गरेको हो। जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको एकल इजलाशले अधिकारीसहित अन्यलाई झिकाउन आदेश गरेको हो।
अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार जाहेरवाला नुरप्रसाद र हत्याको समयमा साक्षी रहेका स्थानीय व्यक्तिलाई थप बयान गर्न अदालतले म्याद जारी गर्ने आदेश गरेको हो। जाहेर हालेर काठमाडौं आएका नुरप्रसादसमेत सम्पर्कविहीन छन्। बुबा नन्दप्रसाद अधिकारको मृत्यु लगत्तै नुरप्रसाद सम्पर्कविहीन भएका थिए। हालसम्म उनी परिवारको सम्पर्कमा आएका छैनन्।
म्याद बुझेपछि उनलाई अदालतमा बकपत्र गराइने श्रेष्तेदार पन्तले बताए।
२०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए। अधिकारीको जाहेरी दर्ता भएको १ वर्ष ६ महिनापछि नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। नुरप्रसादको जाहेरीपछि अनुसन्धान अघि बढेको थियो।
जिल्ला अदालत चितवनले किटानी जाहेरी भएकामध्ये ७ जनालाई धरौटीमा र ४ जनालाई साधारण तारेखमा छाडेको थियो।
दुईजना अदालतको सम्पर्कमा आएका थिएनन्। तीमध्ये रुद्र आचार्य विदेश छन्। सर्वोच्च अदालतमा थुनछेक बहसपछि अभियुक्त १३ जनामध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकीलाई कारबाही किनारा गर्नू भन्ने आदेश भएको थियो। त्यसयता पौडेल फरार छन्। किटानी जाहेरी परेकामा छविलालसहित जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी (क र ख), मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी छन्।
हत्या भएका कृष्णप्रसादका बुबा नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भइसकेको छ भने आमा गंगामाया अहिले पनि अनशनमै छन्। नन्दप्रसादको शव अहिलेसम्म परिवारले नबुझ्दा त्रिवि शिक्षण अस्पताल महारागञ्जमै राखिएको छ।
तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले २०६१ जेठ २४ मा चितवनको रत्ननगरमा कृष्णप्रसादको हत्या गरेका थिए। जयमंगलमा रहेका हजुरबुबा र हजुरआमालाई भेट्न आएका कृष्णप्रसादलाई सुराकीको आरोपमा हत्या गरिएको थियो। हत्यालगत्तै जेठ २६ मा दोषी पहिचान गरी कारबाही गरी पाऊँ भनेर नन्दप्रसादले चितवन प्रहरीमा उजुरी दिएका थिए। त्यस्तै, २०६२ मंसीर २६ मा नुरप्रसादले आफ्नो भाइको हत्यामा संलग्न भएको भनेर १३ जनाको नाम नै किटान गरेर चितवन प्रहरीमा उजुरी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।