काठमाडौं- नेपाल–भारत प्रवुद्ध समूह (इपिजी) बैठकले नेपाल र भारतबीचको सन् १९५० को असमान सन्धि परिमार्जन गर्दै नयाँ सम्बन्ध कायम गर्न लिखित सुझाव दिने भएको छ।
इपिजीले दुवै देशका प्रमुखलाई दुई देशबीच कायम रहेको सम्बन्धलाई अझ उचाइमा पुर्याउन असमान सन्धीहरु खारेज गर्दै नयाँ सन्धि गर्न सुझाव दिन लागेको हो।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्लेनमा मस्यौदाको स्वरुपलाई अन्तिम रुप दिने सहमतिसहित बैठक सकिएको समूहका एक सदस्य एवं पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाले बताए।
थापाले दुवै देशका सरकारलाई साझा प्रतिवेदन बुझाउने बताए। ‘नेपाल-भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धि सम्झौताको नवीकरण, तिनको परिमार्जन गर्ने सहमति जुटेको छ,’ थापाले भने, ‘सन्धिहरु सुधारका निम्ति प्रतिवेदनलाई लिखित रुपमा दुवै देशका प्रमुखलाई बुझाउँछौ।’
इपिजीमा भारततर्फबाट सदस्य भगतसिंह कोसियारीले हाल कायम रहेको सम्बन्धलाई सुधार गर्दै यसअघि भएका सम्झौता पुनरावलोकन गर्ने सहमति भएको बताए।
‘मैत्री एवं सौहार्दपूर्ण वातावरणमा भएको बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हित लगायत विषयमा विचारविमर्श भयो, हामी सकारात्मक दिशातर्फ उन्मुख छौं,’ कोसियारीले भने।
३ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला असमान सन्धि पुनरावलोकन गर्ने सहमति भएको थियो। त्यसअघि २३ वर्षपछि काठमाडौँमा नै सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकले दुवै देशका परराष्ट्र सचिवलाई इपिजी गठनका निम्ति आवश्यक गृहकार्य गर्न निर्देशन दिएको थियो।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणका बेला परिवर्तित परिस्थितिअनुरुप बहुआयामिक नेपाल–भारत सम्बन्धलाई प्रगतिशील एवं अग्रगामी तुल्याउन इपिजी गठनको आवश्यकतामा जोड दिएका थिए, जसलाई तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले स्वीकार गरेका थिए।
सन् २०१६ को जुलाईमा पहिलो बैठक बसेको इपिजीको कार्यकाल आगामी ४ महिनामा समाप्त हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।