एजेन्सी– ५४ वर्षको उमेरमा आज बलिउडकी अभिनेत्री श्रीदेवीको कार्डियाक एरेस्ट (मुटुको चाल गडबड) का कारण निधन भएको छ। ४ वर्षको उमेरदेखि नै बलिउडको फल्मी दुनियाँमा पाइला चालेकी श्रीदेवीले आफ्नो जीवनकालमा ३ सयभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन्। श्रीदेवीका पति हुन्, बलिउड फिल्म निर्माता तथा निर्देशक बोनी कपुर। उनीबारे यस्ता छन् ११ जानकारीः
१) श्रीदेवीले ४ वर्षको उमेरमा पहिलो पटक तमिल फिल्मबाट डेब्यु गरेकी थिइन्। उनको जन्म सन् १९६३ अगस्ट १३ मा भएको थियो। उनको जन्म तमिलनाडुको मिनमपट्टी गाउँमा भएको थियो। उनका बुवा वकिल थिए।
२) सन् १९७६ सम्म उनले बालकलाकारका रुपमा दक्षिण भारतीय फिल्ममा काम गरेकी थिइन्। उनी पहिलो पटक सन् १९७६ मा तमिल फिल्म ‘मुन्दरु मुदिची’मा अभिनेत्री बनेकी थिइन्।
३) श्रीदेवीले सन् १९७१ मा मलायम फिल्म ‘मूवी पूमबत्ता’बाट केरलला स्टेट फिल्म अवार्ड पाएकी थिइन्।
४) श्रीदेवीले सन् १९७९ मा ‘सोलवा सावन’ मार्फत बलिउड फिल्ममा डेब्यु गरेकी थिइन्। तर, उनी 'हिम्मतवाली' फिल्मबाट चर्चामा आइन्।
५) सन् १९८३ मा फिल्म ‘सदमा’मा श्रीदेवीले दक्षिण भारतीय सुपरस्टार कमल हसनसँग अभिनय गरेकी थिइन्। यो फिल्ममा उनको अभिनयको निकै चर्चा भएको थियो।
६) मिथुन चक्रवर्तीसँग श्रीदेवीको प्रेमको हल्लाले मिथुनको बैवाहिक जीवन उथलपुथल हुने अवस्थामा पुगेको थियो। पछि मिथुनले हल्ला मात्र भएको सफाइ दिएका थिए।
७) सन् १९९६ मा आफूभन्दा ८ वर्ष जेठा बोनी कपुरसँग श्रीदेवीको विवाह भएको थियो।
८) बिहे भएको १६ वर्षपछि सन् २०१२ मा फिल्म ‘इङ्लिस विङ्लिस’बाट उनी फिल्म क्षेत्रमा फर्किएकी थिइन्।
९) सन् २०१३ मा श्रीदेवीलाई भारत सरकारले पद्मश्रीबाट सम्मान गरेको थियो।
१०) उनले सन् १९९० मा 'लम्हे' र १९९२ मा 'चालबाज' फिल्मका लागि फिल्म फेयर अवार्ड पाएकी थिइन्।
११) श्रीदेवीले ६२ तेलगु, ५८ तमिल र २१ मलयालम फिल्ममा अभिनय गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।