प्रकाश दाहाल र श्रीदेवीको मृत्युको एउटै कारण मानिएको छ, ‘कार्डियाक एरेस्ट’। प्रकाश दाहालको ३६ र श्रीदेवीको ५४ वर्षको उमेरमा कार्डियाक एरेस्ट’का कारण निधन भयो। सामान्यतया हृदयघात र ‘सडेन कार्डियाक एरेस्ट’लाई एउटै अर्थमा बुझिन्छ। तर, मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल यी दुवैको अर्थ एउटै नभएको बताउँछन्।
उनी भन्छन्, ‘हृदयाघात भनेको मुटुमा आउने समस्या हो भने कार्डियाक एरेस्ट भनेको मुटुको चाल बिग्रिनु हो।’
हृदयाघात भएपछि मुटुको चाल बिग्रिने सम्भावना उच्च रहन्छ। हृदयाघात भएकाहरुको पहिलो एक घन्टादेखि २४ घन्टासम्म जुनबेला पनि मुटुको चाल बिग्रेर मृत्यु हुन सक्ने उनी बताउँछन्। तर, मुटुको चाल अन्य कारणले पनि बिग्रिन सक्ने उनले बताए।
डा ओममूर्तिका अनुसार, मुटुको चाल बिग्रिनु अर्थात् कार्डियाक एरेस्ट हुनुमा उच्च रक्तचाप, जन्मजात मुटुरोग, मुटु चल्दाचल्दै रोकिने समस्या, शरीरमा पोटासियमको कमी आदि पनि हुन सक्छन्। अत्यधिक मदिरा सेवनले पनि मुटुको चाल बिगारेर मृत्यु हुन सक्ने उनले बताए। कतिपयको पौडी खेल्दाखेल्दै मृत्यु हुने र मुटुको मांसपेशी मोटो भएकाहरुको एक्सरसाइज गर्दागर्दै पनि ज्यान जाने गरेको पाइएको उनी बताउँछन्। यसलाई सर्वसाधारणले हृदयाघात बुझे पनि उनी ‘कार्डियाक एरेस्ट’ रहेको प्रस्ट्याउँछन्।
मुटुको चाल असाध्यै बिग्रिनुलाई चिकित्सकीय भाषामा ‘भिटिएफ’ भनिन्छ। यस्तो हुँदा रक्तचाप शून्य हुन्छ। रक्तचाप शून्य भएमा २ देखि पाँच मिनेटभित्रमा बिरामीको मृत्यु हुने डा अनिलले बताए।
उनले भने, ‘बिरामी अस्पतालमै भए समयमै पहिचान गरेर जोगाउन सकिन्छ।’
कार्डियाक एरेस्ट हुने महत्वपूर्ण एउटा कारण भने हृदयाघात नै भएको उनले बताए। उनले भने, ‘हृदयाघात भएको मान्छेलाई अस्पताल पुर्याइयो भने सडेन कार्डियाक एरेस्ट हुन नदिन हामी सचेत हुन्छौं। किनभने हृदयाघात भए पनि मुटुको चाल बिग्रिने सम्भावना उच्च हुन्छ। पहिलो एक घन्टा र २४ घन्टामा चाल बिग्रिने सम्भावना हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।