काठमाडौं– समायोजनमा जान नचाहने कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिने आइतबार अन्तिम दिन भएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। २० वर्ष सेवाअवधि र ५० वर्ष उमेर पुगेका निजामती कर्मचारीका लागि सरकारले स्वेच्छिक अवकाशको कार्यक्रम ल्याएको हो।
संघ,प्रदेश तथा स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीका लागि सरकारले डेढ महिनाअघि यस्तो कार्यक्रम ल्याएको हो।
शुक्रबारसम्म करिब ३ हजार ५ सय कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिइसकेका छन्। निवेदन दिइसकेपछि अवकाश फिर्ता लिन नपाइने भएकाले अन्तिम दिने धेरैले निवेदन दिनसक्ने सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरु बताउँछन्।
यो पनि पढ्नुहोस् : तीन सचिवसहित २७ सय कर्मचारीले बुझाए राजीनामा
आफु कार्यरत कार्यालयमै अवकाशका लागि निवेदन बुझाउने र आगामी एकसाताभित्र कार्यालयले नै सबै विवरण सामान्य प्रशासन मन्त्रालयमा बुझाउने प्रावधान छ।
स्वेच्छिक अवकाशमा सहभागी हुन करिब २२ हजार कर्मचारीको कमापदण्ड पुगेपनि बढीमा ६ हजारले मात्र स्वेच्छिक अवकाश रोज्ने अनुमान गरिएको छ।
अवकाशमा जाने कर्मचारीले १४ देखि ३० लाख रुपैयाँसम्म पाउँछन्। तर, कहिले पाउने र कसरी दिइने प्रष्ट भइसकेको छैन।
समायोजन नियमावली नै नल्याई स्वेच्छिक अवकाश योजना ल्याइएकोमा कतिपयले यसको विरोध गर्दै आएका छन्।
नेकपा(एमाले) सुरुदेखि नै स्वेच्छिक अवकाश कार्यक्रमको विपक्षमा रहेकाले अहिलेको सरकारको यो कार्यक्रम परिमार्जन गर्न सक्ने समेत कतिपय कर्मचारीको आशंका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।