काठमाडौं– बिन्दु माझी, भष्मे डन, फडिन्द्र लगायतको भूमिका निर्वाह गर्दै नेपाली फिल्म नगरीमा उदाएका सशक्त कलाकार हुन्, विपिन कार्की। उनी यतिबेला नयाँ फिल्म ‘नाका’को पखाईमा छन्।
फिल्म ‘छड्के’बाट नेपाली रजतपटमा पाइला चालेका विपिनले पशुपति प्रसाद, जात्राजस्ता सफल फिल्ममा उत्कृष्ट अभिनय देखाइसकेका छन्। दर्शक माझ उनले छुट्टै छाप छोडेका छन्।
उनी अहिले पनि आफ्ना समर्थक माझ फिल्मबाट पाएको ‘भष्मे डन’ र फडिन्द्र अर्थात् ‘फडु’को उपनामले चर्चित छन्। तर, अहिले उनी त्यो नामबाट माथि उठ्न चाहिरहेका छन्।
उनले अभिनय गरेको ‘लालपुर्जा’ त्यति सफल हुन सकेन। त्यसैले उनी यतिबेला संयमित भएर अभिनयमा उत्रिएका छन्।
उनले भने, ‘फिल्म कस्तो बन्ने भन्दा पनि मैले निर्वाह गर्ने क्यारेक्टर महत्वपूर्ण हुन्छ। मैले आफ्नो भूमिकालाई न्याय गरें कि गरिनँ, त्यो ठूलो कुरा हो।’
२०५६ सालमा मोरङको बाहुनीबाट अध्ययनका लागि काठमाडौं छिरेका विपिन स्नातक तह पढ्दापढ्दै अभिनयमा मोडिएका थिए। ‘साथी संगतले कलेज जीवनमा गुरुकुल नाट्यघर धाइरहने बानीले रंगमञ्चप्रति मोह बढायो,’ उनी भन्छन्।
आजको अवस्थासम्म आइपुग्न उनले कडा मिहिनेत गरेका छ्रन्। उनी अभिनय क्षेत्रमा लागेको व्यक्तिमा धैर्यता हुनुपर्ने बताउँछन्।
अध्ययनका क्रममा सुरुमा बाहुनीबाट धनकुटा पुगेका उनी २ वर्ष काठमाडौं छिरेका थिए। नेपाली साहित्यमा स्नातक गरेका विपिन कलाकार नभएका भए अर्मी बन्ने बताउँछन्। भन्छन्, ‘मैले कहिल्यै पनि जीवनमा यस्तो बन्छु भनेर सपना देखिनँ। तर, बुबा भारतीय आर्मीमा कार्यरत हुनुभएकाले आर्मी बन्ने रहर चैं थियो।’
विपिन ‘रियल लाइफ’मा गम्भीर र अन्तरमुखी स्वभावका छन्। तर, उनको अभिनय भने प्रायः चतुर र धेरै बोल्ने हुन्छ। कमैलाई थाहा होला, विपिन अभिनेता अर्जुन कार्कीका आफ्नै भाई हुन्।
अर्जुन कुनै बेला नेपाली दर्शकको रोजाइमा परेका अभिनेता थिए। दाजुकै प्रेरणाले आफू कलाकारितामा अगाडि बढेको उनको भनाइ छ। उनले रंगमञ्चमा २५ बढी अभिनय र १० भन्दा बढी फिल्ममा काम गरिसकेका छन्।
उनी आफ्नो जीवनबाट प्रसन्न छन्। विपिनले अभिनयमा निखार ल्याउन मिहिनेत गर्नुपरे पनि कलाकार बन्नकै लागि दुःख गर्नुनपरेको सुनाए। न त उनले कहिले भोकै बसेर काम गर्नुपर्यो।
उनी अहिले फेरिएको ‘लुक्स’ र ‘क्यारेक्टर’मा नेपाली फिल्ममा उदाउने तयारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।