बुटवल– नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले ‘पाँच स’को मार्गबाट मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन्।
लुम्बिनीमा ३ दिन बसेको पार्टीको संघीय परिषदको चौथो विस्तारित बैठकको समापनपछि शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशमा जारी समस्याको निवारण ‘पाँच स’बाट मात्रै हुने उल्लेख गरे।
भट्टराईले समावेसी तथा सहभागितामूलक लोकतन्त्र र ‘समुन्नत समाजवाद’मा आधारित तेस्रो वैचारिक–राजनीतिक ध्रुवको निर्माण नै यतिखेरको ‘सम्यक दृष्टि, सम्यक संकल्प’ भएको बताए।
भट्टराईले समृद्ध नेपालका लागि परिकल्पना गरेको 'पाँच स'मा समतामूलक समृद्धि, समानुपातिक/समावेशी लोकतन्त्र, स्वाधीनता/सार्वभौमिकता, सुशासन/सदाचार र समुन्नत समाजवाद समेटिएका छन्।
उनले कांग्रेस वा कम्युनिस्ट नामधारी परम्परावादी दलहरुले नेपाल र नेपालीमा भ्रम मात्रै छर्ने गरेको दाबी गर्दै नयाँ युगको आवश्यकता पुराना शक्तिबाट पूरा हुन नसक्ने जिकिर गरे।
संयोजक भट्टराई पार्टीगत स्वार्थका लागि एक भएका एमाले र माओवादीले मुलुकमा शुसासन ल्याउन नसक्ने दाबी गर्दै उनीहरु कमिसनखोर र आसेपासेको जञ्जिरबाट मुक्त हुन नसके नेपाली जनताले फेरि पनि दुःख पाउने बताए।
उनले कांग्रेस एमाले दुवै धारभन्दा अग्रगामी ‘वैकल्पिक राजनीतिक शक्ति’ निर्माण गर्न आफूहरुले कुनै कसर बाँकी नराख्ने बताए।
नयाँ शक्तिले नाम परिवर्तन गर्ने
मुलुकमा भरपर्दो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उभिने भन्दै ३ वर्षअघि गठन भएको नयाँ शक्ति पार्टी नेपालले आफ्नो नाम परिवर्तन गर्ने भएको छ।
लुम्बिनीमा बसेको संघीय परिषदको चौथो विस्तारित बैठकले आगामी एक वर्षभित्र महाधिवेशन गर्ने र उक्त महाधिवेशनबाट पार्टीको नाम समेत परिवर्तन गर्ने निर्णय गरेको भट्टराईले जानकारी दिए। पार्टीको नाम के राख्ने भन्नेबारे एक वर्षसम्म छलफल चलाइने उनले बताए।
भट्टराईले पार्टीको संगठनात्मक संरचनालाई वैज्ञानिक बनाउन कार्यकारी विज्ञ र संरक्षक परिषद् गरी समतलीय संरचना अनुमोदन गरेको जानकारी दिए। जस अन्तर्गत वैचारिक–राजनीतिक मार्गदर्शनसँगै संगठनात्मक शक्ति र संसदमा उपस्थिति दुवै हिसाबले शक्तिशाली तेस्रो ध्रुव बनाइने उल्लेख छ। यसैगरी भट्टराईलाई संघीय परिषद्को चौथो विस्तारित बैठकले सर्वसम्मतिले पुनः संयोजक पदमा चयन गरेको छ।
९९ सदस्यीय कार्यकारी समितिको संयोजकमा भट्टराईलाई पुनः सर्वसम्मत चयन भएका हुन्। यसैगरी, बैठकले दस्तावेज परिवर्तनका लागि डा भट्टराईको संयोजकत्वमा देवीप्रसाद ओझा, डम्बर खतिवडा, गंगानारायण श्रेष्ठ र कल्पना धमला सहितको पाँच सदस्यीय समिति गठन गरेको छ।
यसैगरी शनिबार नै बसेको महाधिवेशन आयोजक समिति तथा कार्यकारी समितिको बैठकले प्रदेश इन्चार्ज समेत परिवर्तन गरेको छ। जसमा प्रदेश १ मा राजेन्द्र किराँती, २ मा रामरिजन यादव, ३ मा गंगानारायण श्रेष्ठ, ४ मा रुद्रबहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाणामगर, ७ मा कृष्णकुमार चौधरी र प्रवास प्रदेशमा हिसिला यमी चयन गरेको छ।
संघीय परिषदको बिस्तारित बैठकले ‘भिजन ५ र मिसन ५’ नामक सांगठनिक पुनर्गठन प्रस्तावसमेत अनुमोदन गरेको छ।
त्यस्तै, महाधिवेशन आयोजक समितिको अभिन्न अंगका रुपमा केन्द्रीय कार्यकारी समितिसहित ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन गरेको नयाँ शक्तिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।