भैरहवा- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आधुनिक दूग्ध प्रशोधन केन्द्र निर्माण गरिने भएको छ। गत असोज ९ मा सम्पन्न 'तिलोत्तमा लगानी सम्मेलन'मा पनि नगरपालिकाले दूग्ध प्रशोधन केन्द्र परियोजनालाई ‘सोकेश’मा राखेको थियो।
करिब ४० करोड रुपैयाँको लागतमा दूग्ध प्रशोधन परियोजना निर्माण गर्न लुम्बिनी विशिष्टिकृत सहकारी संघले काम अघि बढाएपछि दूग्ध प्रशोधन केन्द्र निर्माण हुने टुंगो लागेको हो।
तिलोत्तमा नगरपालिकाले परियोजनाका लागि ४ बिगाहा जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। विशिष्टिकृत सहकारी संघ सहकारीहरुबाटै प्रवर्द्धन गरिएको संस्था हो।
संघले प्रदेश ५ का झण्डै ४ सय सहकारीकर्मीबीच अन्तरक्रिया गरेर दूग्ध प्रशोधन परियोजनाको बारेमा अवधारणा सार्वजनिक गरेको छ। रुपन्देहीसहित प्रदेश ५ का सबै जिल्लामा उत्पादित दूधको बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले दूग्ध प्रशोधन केन्द्रको अवधारणा अघि सारिएको हो।
उचित बजारीकरण नहुँदा दूध उत्पादन हुने मुख्य सिजनमा यहाँका किसानले 'मिल्क होलिडे'को समस्या भोग्न बाध्य छन्। लागतअनुसारको मूल्य पनि पाउन सकेका छैनन्। किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्दै यसको बजार सुनिश्चित गराउन परियोजनाको अवधारणा अघि सारिएको तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले बताए।
तिलोत्तमाले आफ्ना दूध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाँ र पशु बीमा रकममा ५० प्रतिशत अनुदान दिँदै आएको छ। यस्तै, पशुको पञ्जिका राख्ने तथा पशुपालन राहत कोष र समूहमा पशुपालन गर्ने महिलालाई बैंक ब्याजमा अनुदान दिने व्यवस्था पनि मिलाएको छ।
![](https://nepallive.com/uploads/files/uht%20a.jpg)
युएचटी दूग्ध प्रशोधन परियोजना निर्माणमा प्रदेश सरकारले समेत सघाउने जनाएको छ। प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले दूग्ध प्रशोधन परियोजनाको स्थापनाले दूध उत्पादन, प्रशोधन र बिक्री वितरण सहज हुने भएकाले यसमा प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने बताइन्।
सहकारीहरु बीचको सहकार्यले आर्थिक समृद्धिको यात्रालाई बलियो बनाएको बताउँदै उनले उत्पादनमुखीतर्फ अग्रसर हुँदै सहकारी क्षेत्रले थालेको साझा प्रयासले आर्थिक समृद्धिको जगलाई मजबुत बनाउने पनि बताइन्। प्रदेशभरका उपभोक्तालाई बजार बनाएर दूध उत्पादन, प्रशोधन र बिक्री वितरण गर्ने लक्ष्यका साथ परियोजना निर्माण गर्नुपर्ने उनको सुझाव छ।
उत्पादनको क्षेत्रमा लगानी गर्नेलाई प्रदेश सरकारले पनि प्रेरणा दिने भन्दै उनले सहकारी क्षेत्रमा देखिएका अप्ठेराहरु क्रमशः फुकाउँदै जाने बताइन्।
प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ रुपन्देही जिल्ला दूग्ध उत्पादनमा विशिष्ट स्थान हासिल गरेको भन्दै दूग्ध प्रशोधन परियोजना स्थापना भएपछि त्यसको फाइदा किसानहरुले लिन सक्ने बताउछन्।
दूग्ध प्रशोधन परियोजनासम्बन्धी अवधारणा तयार पारेका प्रदेश ५ का पशुपंक्षी तथा मत्स्य निर्देशनालयका प्रमुख तुलसीराम भण्डारीले सहकारीले नै प्रवर्द्धन गर्ने परियोजना आफैंमा सबैका लागि प्रेरणादायी बन्ने धारणा राखे।
लुम्बिनी विशिष्टीकृत सहकारी संघका अध्यक्ष खगराज शर्माले प्रदेश ५ का सहकारीकर्मीको उत्साहले परियोजनालाई गन्तव्यमैं पुर्याउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।