कुनै परिवारमा ५० भन्दा तलको उमेरमा क्यान्सर र मुटुरोग देखिएको इतिहास भएमा ४५ वर्षको उमेरअघि नै जाँच गराउनुपर्छ । भर्खरै विश्वचर्चित अभिनेत्री एन्जेलिना जोलीले आफ्नो परिवारको यही इतिहासका कारण बेलैमा चेकजाँच गरेर क्यान्सर हुने सम्भावना देखिएपछि स्तन फालेकी हुन् ।
परिवारमा हजुरबुबा, हजुरआमा, आमाबुबा वा कुनै नजिकको नातेदारमा ४० देखि ४५ वर्षको उमेरमा ब्रेस्ट क्यान्सर, पाठेघर क्यान्सर देखिएको थियो भने १८ वर्षको उमेर पुगेबाटै चेकजाँच गर्न सुरु गर्नु उपयुक्त हुन्छ । चाँडै जाँच गर्दा रोग गम्भीर हुनुभन्दा पहिल्यै उपचार गर्न सकिन्छ ।
पितृसत्तात्मक देश भएकाले नेपालमा वंशाणुगत भन्नेबित्तिकै पिताकै परिवारको इतिहास केलाउनेहरु हामीले भेटेका छौं । रोगका लागि माता वा पिता छुट्टिँदैनन् । त्यसैले दुवैतर्फको इतिहास केलाउनु जरुरी हुन्छ । आमाबुबा दुवैतिरका नातेदारको समेत इतिहास बुझिराख्नु अझ हितकर हुन्छ ।
किनभने कतिपय रोग केही पुस्ता छाडेर फेरि देखिन सक्ने जोखिम हुन्छ । वंशाणुगत रोगमध्ये कुनै आमाबाट छोरामा सर्ने खालका हुन्छन् । यसको पनि बेलैमा जाँच गर्दा रोकथाम हुन सक्छ ।
जेनेटिक रोग भएपछि त्यसको अन्त्य त्यति सहज छैन । बरु हुनुअघि नै थाहा पाएर त्यसको समाधान गर्न सकिन्छ । कतिपय अवस्थामा जेनेटिक रोग आगामी पुस्तामा स्थान्तरण नहोस् भनेर आफ्नो पुस्तामै रोकथामको उपाय अपनाउन सकिन्छ । पछिल्लो सयय यसका लागि प्रविधिको सहारा लिने गरिएको छ ।
नेपालमा प्राकृतिक रुपमा बच्चा पाउन नसक्नेले आइभिएफको सहारा लिइरहेका छन् । वंशाणुगत रोग हुनेले नयाँ प्रविधिको सहारा लिँदा रोकथाम हुन सक्छ । त्यसैगरी थैलेसिमिया, गर्भपतन, सिस्टिक फाइब्रोसिस, डाउन सिन्ड्रोम, हिमोफिलियाजस्ता रोगबाट पनि यस प्रविधिका माध्यमबाट जोगाउन सकिन्छ ।
त्यसैले गर्भाधानको समयमा सतर्क रहनु सबैभन्दा जरुरी छ । दम्पतीले सन्तान योजना बनाउनुअघि आफ्नो परिवारको इतिहासका बारेमा जानकारी लिनुदिनु राम्रो हुन्छ । गर्भाधारण गर्नु दुई महिनाअघि नै जनेटिक रोग विशेषज्ञलाई समेत आफ्नो परिवारको इतिहासका बारेमा बताएर सल्लाह लिँदा खराब जिनका कारण सन्तान रोगी हुनबाट जोगाउन सकिन्छ । कतिपय पारिवारिक बिरामीबाट जोगाउनका लागि औषधिको प्रयोग मात्रै पनि लाभदायी हुन्छ ।
के हो जेनेटिक डिजिज ?
हाम्रो शरीर अर्बाैं सेल मिलेर बनेको हुन्छ । हरेक सेलमा २३ जोडी क्रोमोजोम्स हुन्छन् । पुरुषबाट ‘एक्स’ वा ‘वाई’ मध्ये कुनै २३ क्रोमोजोम र महिलाबाट २३ ‘वाई’ क्रोमोजोम मिलेर २३ जोडी क्रोमोजोम्स बन्छन् । क्रोमोजोम, डीएनए, आरएनए र प्रोटिन्सलबाट बनेका हुन्छन् । क्रोमोजोम्सले शरीरका गुण–अवगुण अघिल्लो पुस्तामा स्थान्तरण गर्छ । शरीरको डिएनए वा आरएनएमा जिन्स मिल्छन् । अर्थात् एक क्रोमोजममा धेरै जिन्स मिल्छन् । कति जिन्स सक्रिय हुन्छन् त कति निष्क्रिय पनि हुन्छन् । सामान्य अर्थमा क्रोमोजम्स नै आमाबुबाबाट बच्चासम्म पुग्छन् । यसरी सर्ने क्रममा कतिपय अवस्थामा रोग पनि सँगै सर्छन् । यिनै जिन्स सँगै सरेका रोगलाई जेनेटिक वा हेरिडिटरी डिजिज भनिन्छ ।
हाम्रो शरीरमा लगभग २५ हजार जिन पाइन्छन् । यी जिनमा कतिपय समयमा यस्ता रोग भेटिन्छन्, जुन वातावरण वा जिनमा कुनै प्रकारको गडबडीले हुन्छन् । पारिवारिक इतिहासमा भने उक्त रोग हुँदैन । यस्तो रोग जेनेटिक भए पनि आनुवंशिक होइन । यीमध्ये थैलेसिमिया, हिमोफिलिया, डायबिटिज, हाई कोलेस्ट्रल, मुटुरोग आनुवंशिक रोग हुन् । क्यान्सरमध्ये युवावस्थामा हुने क्यान्सर, ब्रेस्ट क्यान्सर, गर्भाशयको क्यान्सर, पेट क्यान्सर, रक्त क्यान्सर र किड्नी क्यान्सर आनुवंशिक हुने सम्भावना अधिक हुन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।