काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले गत आर्थिक वर्ष २०७५/०७६ को आम्दानी देखाउँदै खर्च भने लुकाएको छ।
बुधबार एयरलाइन्सको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी एयरलाइन्सका कार्याकारी अध्यक्ष मदन खरेलले गत आवको आम्दानीको रकम सार्वजनिक गरे पनि खर्च भने लुकाएका छन्।
खरेलले खर्चको विवरण भने मार्चमा मात्रै आउने भन्दै पत्रकारको प्रश्नबाट उम्किना खोजेका छन्।
एयरलाइन्सले गत आवमा अन्तर्राष्ट्रिय उडानबाट १० अर्ब ७० करोड ४ लाख ४५ हजार ३ सय ४७ रुपैयाँ आम्दानी भएको तथ्यांक सार्वजनिक गरेको छ। यसैगरी, आन्तरिक उडानबाट भने २९ करोड ५२ लाख ९५ हजार ३ सय ८४ रुपैयाँ र ग्राउन्ड ह्यान्डिलिङ सेवाबाट ४ अर्ब १४ करोड ४८ लाख २० हजार ६ सय ७० रुपैयाँ आम्दानी गरेको तथ्यांक अध्यक्ष खरेलले सार्वजनिक गरेका हुन्।
निगम स्रोतका अनुसार खरेलले पद जोगाउनकै लागि कार्यकारी अध्यक्ष भएर आउँदै गर्दाताका भनेअनुसार काम गर्न नसकेपछि निगम सुधारको बाटोमा रहेको र थप सुधारको काम भन्दै मिडियाबाजी गर्न खोजेको हुन्।
खरेलले चालु आवमा भने १७ अर्ब २५ करोड १५ लाख ४२ हजार २ सय ६२ रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको पत्रकार सम्मेलनमा बताए। तर, निगम स्रोतका अनुसार गत आवमा मात्रै निगम एक अर्बभन्दा बढी घाटामा गएको छ।
निगमले दुई वटा वाइडबडी जहाज 'फुल-फेज'मा सञ्चालन गर्न नसक्दा र आन्तरिक उडान प्रभावकारी व्यवस्थापन गर्न नसक्दा ठूलो मात्रामा घाटा व्यहोर्नु परेको स्रोतको दाबी छ।
निगम सुधार कार्यदलले व्यवस्थापनका कारण नेपाल एयरलाइन्स धराशायी भएको र विकल्प खोज्नुपर्ने सुझाव पेस गरेको थियो। यसपछि खरेलले पद जोगाउनकै लागि पत्रकार सम्मेलन गरेर मोबाइल एप्स, ई-मिटिङजस्ता स–साना काम प्रचार गर्न लागेको स्रोतको दाबी छ।
खर्च कटौतीबाट वार्षिक २ अर्ब जोगाउँछौं : खरेल
सोही पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष खरेलले एयरलाइन्सले विभिन्न काममा गर्दै आएको अनावश्यक खर्च कटौती गरेर वार्षिक २ अर्बभन्दा बढी रकमसमेत बचत गर्ने योजना आगाडि सारेका छन्। निगमले एक वर्षमा २ अर्ब १७ करोड रुपैयाँ बचत गर्ने खरेलको दाबी छ।
खरेलले इन्जिनियरिङ क्यामो, जिएसए, इएमडी, कर्पोरेट, सेफ्टी, इन्धन, रुट, होटललगायतमा भइरहेको खर्च कटौती गर्दै यो रकम बचत गर्ने बताएका छन्।
नारिता र गोन्जाओ उडानको भाका सरेको सर्यै
नेपाल वायुसेवा निगमले चीनको गोन्जाओ र जापानको नारिता उडानको भाका फेरि सारेको छ।
यही मंसिरदेखि गोन्जाओ र जनवरीदेखि नारिता उडान गर्ने भन्दै ६ महिना अघिदेखि प्रचार गर्दै आएका खरेलले फेरि मार्चदेखि यी दुई गन्तव्यमा उडान हुने बताएका छन्।
जनवरी ३ अर्थात पुस १८ गतेबाट नारिता विमानस्थलमा उडान गर्ने भनिए पनि ग्राउन्ड ह्यान्डलिङ नपाएको भन्दै फागुनमा मात्र उडान गर्ने निगमका कार्यकारी अध्यक्ष खरेलले जानकारी दिए।
उनले ग्राउन्ड ह्यान्डलिङको काम फागुनअगावै भए उडान पनि त्यहीअनुसार अगाडि गर्ने जानकारी दिए। जापानसँगको सुरुको बैठकमा सन् २०२० जनवरीबाटै उडान गर्ने निर्णय भए पनि अन्तिममा ग्राउन्डह्यान्डलिङको समस्या देखाएर तत्कालका लागि उडान समय सार्न लगाएको उनको भनाइ छ।
यस्तै साउदी अरब र चीन उडान पनि फागुन अर्थात् मार्चमा हुने गरी आवश्यक तयारी गरिरहेको अध्यक्ष खरेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।