काठमाडौं- काठमाडौंको असनमा रहेको लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समस्याग्रस्त घोषणा भएको छ।
सञ्चालकहरूले वित्तीय अनुशासन पालना नगरेको, बचतकर्ता सदस्यको रकम हिनामिना गरेको, तथा संस्था आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुगेपछि उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साउनमा उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई जिम्मा लगाएको छ।
काठमाडौं जिल्लाभर कार्यक्षेत्र रहने गरी विसं २०५८ साल जेठमा दर्ता भएको उक्त सहकारी संस्थाले आर्थिक वर्ष २०७२/७३ पछि वार्षिक लेखापरीक्षण गरेको छैन। २०७२/७३ सालको वार्षिक लेखा परीक्षणअनुसार उक्त संस्थाको सेयर पुँजी १ करोड ३ लाख ४३ हजार, बचत १८ करोड ४० लाख ७५ हजार ३ सय र कर्जा १३ करोड १४ लाख १६ हजार रुपैयाँ बराबर देखिन्छ।
सोही अवधिमा उक्त संस्थाको सञ्चित नोक्सानी ६ करोड रुपैयाँभन्दा बढी देखिन्छ। संस्थाको कुल दायित्व र कुल सम्पत्ति २८ करोड ५४ लाख भन्दा बढी रहेको छ।
लुःनिभा सहकारीका ५४ जना सदस्यले २०७५ असार १९ गते सहकारी विभागमा निवेदन दिएका थिए। संस्था गम्भीर आर्थिक कठिनाइमा परेको भन्दै विभागमा निवेदन परेपछि सहकारी विभागले २०७५ असार २९ मा उक्त सहकारी संस्थाको वित्तीय अवस्थाका अध्ययनका लागि समिति गठन गरेको थियो।
अध्ययन समितिले २०७५ भदौ १९ गते विभागमा पेस गरेको अध्ययन प्रतिवेदन र सुझाव अनुसार उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्नुपर्ने उल्लेख गरिएको थियो। विभागले समितिको सोही अध्ययनका आधारमा २०७६ साल असार ८ गते मन्त्रालयलाई सिफारिस गरेपछि गत साउन १२ गते मन्त्रालयले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो।
अहिले उक्त संस्थाको दायित्व तथा सम्पत्तिको विवरण एकिन गर्ने काम भइरहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष युवराज सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार उक्त सहकारी संस्थाका बचतकर्ताले फिर्ता पाउनुपर्ने रकम र संस्थाको सम्पत्ति, सञ्चालक तथा कर्मचारीको सम्पत्ति एकिन गर्ने, सम्पत्ति रोक्का गर्ने जस्ता प्रकृया सुरु भइसकेको छ।
‘हामीले सञ्चालकहरूसँग निरन्तर सम्पर्कमा रहेर उक्त सहकारी र त्यससँग सम्बन्धित व्यक्तिहरूको विवरण संकलन गरिरहेका छौं। सोही विवरणका आधारमा दायित्व पनि निश्चित प्रक्रिया पुर्याएर फरकफारक गर्छौं,’ सुवेदीले भने।
लुःनिभा सहकारी समस्याग्रस्त घोषणा भएसँगै यस्ता संस्थाहरूको संख्या १२ पुगेको छ। व्यवस्थापन समितिले भने हालसम्ममा ओरेन्टल बचत तथा ऋण सहकारी संस्थाको मात्रै काम भइरहेको जनाएको छ।
अन्य १० वटा समस्याग्रस्त सहकारीहरूको सबै कागजातहरू जफत गरेर सम्पत्ति तथा दायित्व मुल्यांकनको काम व्यवस्थापन समितिले गरिरहेको अध्यक्ष सुवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।