काठमाडौं- झुठो तथा नक्कली बिजक प्रयोग गरी राजस्व छली गर्ने नेपाल दोङ्गहवा कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीविरुद्ध राजश्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।
उक्त कम्पनीलाई विभागले १३ करोड १३ लाख ११ हजार ६ सय ७७ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद मागदाबीसहित मंगलबार मुद्दा दर्ता गरेको हो।
नेपाल दोङ्गहवा कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कम्पनी प्रालि (स्थायी लेखा नं. ६०३४९३२७२०) ले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजश्व चुहावटको कसूरमा संलग्नता रहेको देखिएको राजश्व अनुसन्धान विभागले दायर गरेको आरोपपत्रमा उल्लेख छ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क) र (ख) बमोजिम कसुर गरी मुल्य अभिवृद्धि कर तर्फ ४ करोड २१ लाख ८ हजार ८ रुपैयाँ र आयकर तर्फ ७ करोड ७७ लाख ७१ हजार ७ सय ९३ रुपैयाँ बराबरको आय लुकाएको आरोप लगाइएको छ। कानून बमोजिम मुनाफा वितरण गर्दा लाग्ने लाभांश कर तर्फ १ करोड १४ लाख ३४ हजार ८२ रुपैयाँ समेत गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम हुने जम्मा विगो १३ करोड १३ लाख ११ हजार ६ सय ७७ रुपैयाँ कायम गरिएको हो।
राजस्व चुहावट गरेको कसुरमा प्रालिको संचालक प्रतिवादीहरु याङ लिन शे श्याङजुन वे देगुइ रसुविन श्रेष्ठ लाई सो रकम बराबर असुल उपर गराई विगोको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।