काठमाडौं- बागमती सफाइको २५०औं हप्तामा आज बागमती नदीका विभिन्न ठाउँमा सरसफाइ गरिएको छ। उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।
बागमती मनोहरा दोभानस्थित शंखमूल क्षेत्रमा सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सफाइमा उपत्यकाभर सञ्चालन भइरहेका सफाइ अभियानका गरी एक हजारभन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सदस्य माला खरेलले बताइन्।
सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जीवन विज्ञान, नेपाल विज्ञापन संघ लगायत संस्थाका ६ सयभन्दा बढीको सहभागिता रहेको बागमती सफाइ महाअभियानका अभियानकर्मी एवं अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्र बस्नेतले बताए।

२०७० जेठ ५ गते शनिबारदेखि बागमती सफाइ महाअभियान सुरु भएको हो।
आजको सफाइ अभियानमा वातावरण मन्त्री लालबाबु पण्डितको समेत सहभागिता थियो। महानगरले आफ्नो आम्दानीको ७० प्रतिशत फोहर व्यस्थापनमा गर्छ,' उनले भने, 'तर फोहर गर्नेलाई कारबाही गरेर राजस्व संकलन गरिएको भेटिएन।' एक वर्षभित्रमा काठमाडौंमा मास्क लगाउनु नपर्ने गरी आफूले काम गर्ने पनि उनले बताए।

'५० वर्षमा पनि नष्ट नहुने खालका प्लास्टिकमा चाउचाउ लगायत अन्य खाद्य परिकार प्याकिङ भइरहेका छन्,' उनले भने, 'अब तीनचार महिनामै नष्ट भएर माटोमा मिल्न सक्ने वातावरणमैत्री प्याकिङ गर्नेतिर लाग्न म उत्पादकहरुलाई आह्वान गर्दछु।'
बैसाखदेखि धुवाँ फाल्ने गाडीहरु हरियो स्टिकर नलगाईकन महानगर पस्न नपाउने पनि उनले बताए। 'हरियो स्टिकर लाए पनि ४७ प्रतिशत गाडी प्रदूषण जाँचमा फेल भएका छन्,' उनले भने,'तिनले स्टिकर समेत किनेर लगाउने गरेको पाइएको छ।'






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।