काठमाडौं- जापान फाउन्डेसनले जापानी भाषा प्रशिक्षार्थीहरुबाट आवेदन माग गरेको छ। फाउन्डेसनले सन् २०२० मा जापानमा सञ्चालन गर्ने जापानी भाषा प्रशिक्षण (टिचिङ एजुकेसन मेथड प्रोग्राम फर टिचर अफ स्पेसिफाइड स्किल्ड वर्कर क्यान्डिडेट्स अफ फिस्कल इअर २०२०) का लागि प्रशिक्षार्थीलाई आवेदन माग गरेको हो। आवेदन ५ देखि ७ नोभेम्बर भित्र दिइसक्नुपर्ने जनाइएको छ।
रोजगारीका लागि जापान जान चाहने प्रशिक्षार्थीहरुबाट आवेदन माग गरिएको हो। जापानले अबका ५ वर्षमा ३ लाख ५४ हजार आप्रवासी कामदार भित्र्याउने नीति अघि सारेको छ। जसमा ठूलो संख्यामा नेपाली श्रमिकहरुलाई रोजगारीको अवसर हुन सक्ने विश्वास गरिएको छ।
नेपालबाट जापानले निर्माण, उद्योग, नर्सिङ, कृषि, होटल लगायत १४ क्षेत्रमा आप्रवासी कामदारहरुलाई प्राथमिकताका साथ लैजाने जानकारी दिएको छ। नेपालबाट लैजाने कामदारहरु सिपका साथै भाषामा समेत दक्ष हुनुपर्ने छ।
पहिलो चरणमा भाषा परीक्षा पास गरेपछि उनीहरुको स्किल टेस्ट हुन्छ। स्किल टेस्टमा उत्तीर्ण भएका श्रमिकहरुले आबश्यक प्रकृया पुरा गरेर रोजगारीका लागि जापान जान पाउनेछन्।
नेपालबाट रोजगारीका लागि जापान जाने श्रमिकहरुलाई भाषामा पोख्त बनाउन भाषा प्रशिक्षार्थीलाई फाउन्डेसनले प्रशिक्षण दिन लागेको श्रम मन्त्रालयका उपसचिव दीपक ढकालले नेपाल लाइभलाई जानकारी दिए।
'जापानले भाषा र सिप दुवैमा दक्ष श्रमिक लिने योजना अघि सारेको छ, त्यसका लागि भाषा प्रशिक्षार्थीहरुलाई पनि दक्ष बनाउने योजना अनुसार फाउन्डेसनले सूचना पठाइसकेको छ,' उपसचिव ढकालले भने। जापानले एक वर्षमा १ सय २० जनाको संख्यामा भाषा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिने मन्त्रालयले जनाएको छ। यससम्बन्धी विस्तृत जानकारीका लागि काठमाडौंस्थित जापानी दूतावासको वेभसाइट (www.np.emb.japan.go.jp) मा हेर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।