काठमाडौं- शून्य लागतमा नेपाली श्रमिक मलेसिया जान पाउने सहमति जुटेसँगै १५ महिना बन्द रहेको मलेसिया गत भदौ २९ गतेदेखि औपचारिक रुपमा सुरु भइसकेको छ।
मलेसिया रोजगारी सुरु भए पनि कामदारको स्वास्थ्य परीक्षण गर्ने नयाँ स्वास्थ्य संस्था थप गर्ने विषय भने टुंगो लागेको छैन।
गत भदौमा दुई देशका सहसचिवस्तरीय प्राविधिक समितिमा मलेसियाली सरकारको मापदण्ड पूरा गरेका केही नयाँ स्वास्थ्य संस्था थप गर्ने सहमतिअनुसार मलेसिया रोजगारी सुरु भएको थियो।
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि मलेसियाले पठाएको मापदण्डअनुसार नेपाल सरकारले १ सय २२ वटा मेडिकल छनोट गरेको थियो।
नेपाल सरकारले छनोट गरेका १ सय २२ वटा मेडिकलमध्ये ३६ वटा मेडिकललाई पहिले नै मलेसियाको बायोमेडिकल प्रणाली अनुसार बेस्टिनेट एसडिएन बिएचडीमार्फत मान्यता पाएका थिए।
मलेसिया रोजगारीको सुरुवातमा तिनै ३६ वटा मेडिकलबाट कामदारको स्वास्थ्य परीक्षण हुने मलेसिया सरकारले निर्णय गरेको थियो। नेपाल सरकारले सिफारिस गरेका थप ८६ मेडिकलहरुको पुनः मलेसियाली टोलीले अनुगमन गर्ने बताइएको थियो।
मलेसियाको मापदण्ड पुगेका मेडिकललाई मात्रै मलेसियाली बायोमेडिकल प्रणालीमा सूचीकृत गराइने शर्तअनुसार मलेसिया रोजगारी सुचारु भएको थियो।
नोभेम्बरको पहिलो हप्ता बित्नै लाग्दा मलेसियाली अनुगमन टोली भने नेपाल आएको छैन। तर सोमबार मलेसियाले एक सूचना जारी गर्दै नेपालबाट रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न नेपाल सरकारले छनोट गरी सिफारिस गरेका १ सय २२ मध्येकै ८६ बाट ईच्छुक मेडिकललाई स्वास्थ्य परीक्षणमा सहभागी हुन आवश्यक निरीक्षणका लागि आवेदन माग गरेको छ।
रोजगारीका लागि मलेसिया जाने विदेशी श्रमिकहरुको स्वास्थ्य परीक्षणका लागि मान्यता प्राप्त बेस्टिनेट एसडिएन बिएचडिले मलेसियाको अध्यागमन विभागसँग सम्बन्धित वेबसाइट (www.fwcms.com.my) मार्फत् सूचना जारी गर्दै मलेसियाको बायोमेडिकल प्रणालीमा आबद्ध हुन इच्छुक संस्थाका लागि आवेदन माग गरेको हो।
मलेसियाली बायोमेडिकल प्रणालीमा सूचीकृत हुन आवश्यक शर्त उल्लेख गर्दै आगामी डिसेम्बर ४ सम्म आवेदन दिइसक्नु पर्ने सूचनामा भनिएको छ।
आवेदनमा बायोमेडिकल प्रणालीमा आबद्ध हुन ईच्छुक मेडिकलहरुले आफ्नो विस्तृत विवरण, सञ्चालकको नाम, ठेगाना, संस्था सञ्चालन अनुमति प्रमाण पत्र, संस्था रहेको स्थानको नक्सा, नेपालस्थित स्वास्थ्य क्षेत्रका सम्बन्धित निकायबाट पाएको सञ्चालन अनुमति पत्र, सहित नेपालस्थित मलेसियन दूतावासबाट सिफारिस पत्र समावेश गर्नुपर्ने उल्लेख गरेको छ।
१५ महिनासम्म बन्द भएको मलेसियाको रोजगारी भदौदेखि नै सुरु भए पनि नयाँ स्वास्थ्य संस्था थप गर्ने विषयलाई कात्तिकमा पुर्याइनु र मलेसियाली सरकारले विभिन्न शर्तहरु खडा गर्दै जानुले नयाँ मेडिकल थप गर्न समस्या हुने मेडिकल व्यवसायीहरुको तर्क छ।
‘मलेसियाली बायोमेडिकल प्रणालीमा नयाँ मेडिकलहरु थप गर्ने सम्भावना ज्यादै न्यून छ। यदि मलेसिया सरकारले नयाँ मेडिकल थप्ने भए मलेसिया सरकारले पठाएको मापदण्ड पूरा गरी सरकारबाट सिफारिस भएका ८६ वटै मेडिकल पहिले नै सूचीकृत हुन्थे,' मेडिकल व्यवसायी समशेर नेपालीले नेपाल लाइभसँग भने, 'यी स्वास्थ्य थप गर्न नसकिने भएकाले नै समय थप्ने बहानामा मेडिकल व्यवसायीलाई आश्वासन दिइएको छ।’
‘मलेसियाली बायोमेडिकल प्रणालीमा नयाँ स्वास्थ्य संस्था थप गर्दा सफ्टवेयरले नै धान्दैन भनिरहेको छ, नयाँ मेडिकल थप्दैनौँ भनेर मलेसियाली दूतावासले नै पटक पटक पत्राचार गरेको थियो,’व्यवसायी नेपाली भन्छन्, ‘सरकारले दबाब दिइहाल्यो भने एक/दुई वटा मुस्किलले थप्ला। यसरी थपिएका मेडिकललाई पनि मलेसियाली बायोमेडिकल प्रणालीमा आबद्ध हुन सहज भने छैन।’
मलेसियाले पठाएको मापदण्डअनुसार छनोट भएका सबै नयाँ मेडिकलहरू मलेसियाली बायोमेडिकल प्रणालीमा सूचीकृत हुनै पर्ने ग्यारेन्टीको अडान नेपाल सरकारले लिएको भए हालको जस्तो समस्या सिर्जना नहुने व्यवसायीहरुको तर्क छ। यसअघि ३७ वटा मेडिकलहरुबाट रोजगारीका लागि मलेसिया जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण हुँदै आएको थियो।
ती ३७ वटा मेडिकलबाट मात्रै स्वास्थ्य परीक्षण हुँदा सिण्डिकेट भएको भन्दै सरकारले नयाँ स्वास्थ्य संस्था थप गरी सिन्डिकेट अन्त्य गर्ने अडान लिएको थियो। तर सरकारको यो अडानप्रति सरकारी अधिकारीहरु नै असन्तुष्ट छन्।
मन्त्रालयका एक उच्च अधिकारीले नाम नखुलाउने शर्तमा नेपाल लाइभसँग भने, ‘मलेसियाली बायोमेडिकल प्रणालीमा सिन्डिकेट भयो भनेर यसैका लागि मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारी बन्द गर्नु उचित देखिएन, मलेसियाको प्रणाली त्यहि, कामदारले तिर्नुपर्ने शूल्क उही भएपछि मेडिकलको संख्या थपेर मात्रै के गर्ने?’
‘मलेसियाली बायोमेडिकल प्रणालीमा ३६ वटा स्वास्थ्य संस्था आबद्ध भएर नेपालमा काम गर्नु भनेको सिन्डिकेट हो जस्तो मलाई लाग्दैन,’ती अधिकारीले भने, अरु देशको तुलनामा नेपालमा भएका ३६ वटा मेडिकलहरु सबैभन्दा ठूलो संख्या हो।’
अध्यागमन विभाग मलेसियाका अनुसार थाइल्यान्ड, कम्बोडिया, भियतनाम, श्रीलंका, चीन, म्यानमार, बंगलादेश र नेपालमा बायोमेडिकल प्रणाली लागू गरिएको छ।
थाइल्यान्डमा मलेसियाली बायोमेडिकल प्रणालीमा आबद्ध २ वटा मात्रै मेडिकल छन्। कम्बोडिमामा २, भियतनाममा ३, श्रीलंकामा ३, म्यानमारमा ४, चीनमा ४, बंगलादेशमा १७ वटा स्वास्थ्य संस्थाहरु मलेसियाली बायोमेडिकल प्रणालीमा आबद्ध छन्।
मलेसियाले स्रोत मुलुकबाट कामदार आपूर्ति गर्दा मलेसिया सरकारको बेस्टिनेट एसिडिएन बिएचडीले कम्पनीले मान्यता दिएका स्वास्थ्य संस्थाहरूबाट मात्र श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्दै आएको छ।
हाल मलेसिया सरकारबाट मान्यताप्राप्त बेस्टिनेट कम्पनीमार्फत छनोट भई नेपाल सरकारको स्वास्थ्य मन्त्रालय तथा श्रम मन्त्रालयबाट समेत स्वीकृत भएका ३६ वटा स्वास्थ्य संस्थालाई मात्रै तत्काल मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न मान्यता दिइएको छ। अन्य देशका तुलनामा नेपालको यो संख्या नै सबैभन्दा ठूलो हो।
तर नेपाल सरकारको अडानपछि नयाँ दुई देशको सहसचिव स्तरीय बैठकमा नोभेम्बरको पहिलो हप्तामा नयाँ मेडिकलको अनुगमनका लागि मलेसियाली टोली नेपाल आउने सहमति भएको थियो।
बैठकमै सहमति भइसकेकाले सोही सहमतिअनुसार नै मलेसियाली बायोमेडिकल प्रणाली अगाडी बढाइने मन्त्रालयका उपसचिव प्रदिपराज अधिकारी बताउँछन्।
उपसचिव अधिकारी भन्छन्, ‘मलेसियाली टोलीले मापदण्ड पुगेका मेडिकल छनोट गर्ने भनिएको छ, मलेसियाली सरकारले तोकेको मापदण्ड पुरा भएका सबै मेडिकल संस्थाहरु मलेसियाली बायोमेडिकल प्रणालीमा सूचीकृत हुन्छन्।’
मलेसिया सरकारले २०७२ असार २३ गतदेखि मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि बायोमेट्रिक प्रणाली अनिवार्य गरेको थियो।
सुरुमा मलेसियन कम्पनी बेस्टिनेट एसिडिएन बिएचडीले नेपालमा ३९ वटा स्वास्थ्य संस्थालाई मान्यता दिएको थियो। पछि ३७ वटा स्वास्थ्य संस्थाले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।