काठमाडौं- देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय विमान उडान तथा अवतरणमा 'डिले'(ढिलाई)को समस्या अत्याधिक बढेको छ।
विमानस्थलमा सरदर अन्तर्राष्ट्रिय उडानमा २० देखि ३० मिनेटसम्म विमान उडान तथा अवतरणमा डिले हुने गरेको विमानस्थल टावर कन्ट्रोल रुमका कर्मचारीहरु पनि स्वीकार गर्छन्। ‘विमान उडान तथा अवतरणमा ढिलाइ हुनुमा धेरै कारण छन्,’ टावर कन्ट्रोलर प्रमुख सिताराम भण्डारी भन्छन्, ‘विमानस्थलमा प्रयोग भएका उपकरण र कर्मचारी मात्रै ढिलाइ कारण हैनन्।’
विमान डिले हुनमा पार्किङ-वे, मौसम, वायुसेवा कम्पनीको उडान तालिका, विमानस्थल मर्मतको काम र उपकरण सबै जोडिने उनको भनाइ छ।
अवतरणअघि नेपाली आकाशमा विमानको फन्को। तस्बिर-फ्लाइट राडार ट्वान्टीफोर।
‘पछिल्लो समय विमान डिले तथा आकाशमै फन्को मार्नुपर्ने समय बढेको साँचो हो,’ भण्डारीले भने, ‘उड्डयन क्षेत्रमा डिले सामान्य विषय हो। तर। कति समय र कारण के हो भन्ने विषय ठूलो हुन्छ।’
एउटामात्रै रन-वे हुनु र बढ्दो हवाई यात्रुको संख्याका कारणले पनि विमान उडान तथा अवतरणमा डिले भइरहेको विमानस्थल कार्यालयका प्रवक्ता प्रतावबाबु तिवारी बताउँछन्।
एक दर्जन पनि ठूला विमान पार्किङ गर्न मिल्ने स्थान नभएको विमानस्थलमा अहिले झन्डै ३० वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्। जसका कारण पनि विमान उडान तथा अवतरणमा केही समय स्भाविक रुपमा डिले हुने गरेको विमानस्थल टावर कन्ट्रोल रुमको भनाइ छ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ ८० वटा र आन्तरिकतर्फ ३ सयभन्दा बढी गरी झन्डै दैनिक ४ सयको संख्यामा उडान तथा अवतरण भइरहेको छ। यो उडान तथा अवतरणको संख्या विमानस्थलको क्षमताभन्दा बढी रहेको विमानस्थल कार्यालयको भनाइ छ।
तर, विमानस्थल कार्यालयले बढ्दो उडान संख्यालाई समेत मध्यनजर गर्दै व्यवस्थापन गरिरहेको दाबी गरिरहेको छ।
पछिल्लो सयम विमान डिले हुनमा सबैभन्दा महत्वपूर्ण कारण मौसमसमेत बनेको छ। काठमाडौं तथा तराईका विमानस्थलमा केही दिनयता बढेको बाक्लो हुस्सुका कारण पनि विमान उडान तथा अवतरणमा ढिलाइ भएको विमानस्थल कार्यालयको भनाइ छ।
विमानस्थल कार्यालयको भनाइसँग वायुसेवा कम्पनीहरुको मतसमेत मिलेको छ। तर, मौसमबाहेक पनि विमानस्थल कार्यालयको लापरबाहीका कारण विमान डिलेको समस्या केही बढेको वायुसेवा कम्पनीका प्रतिनिधिहरुको आरोप छ।
तर, वायुसेवा कम्पनीको आरोप सत्य नभएको विमानस्थलका कर्मचारीको बताउँछन्।

वायुसेवा कम्पनीहरु बीच विमान थप्ने होडबाजीका कारण पनि डिलेको समस्या बढेको कर्मचारीहरुको आरोप छ।
हवाई सेवाको 'बेस' उपत्यका बाहिर भए पनि वायुसेवा कम्पनीहरुले उपत्यकालाई नै आधार बनाएर उडान तथा अवतरण गर्ने प्रवृत्तिका कारण केही हदसम्म समयमै उडान तथा अवतरणमा समस्या आएको विमानस्थल टावर कन्ट्रोल रुमको भनाइ छ।
आन्तरिक उडानमा भन्दा पछिल्लो सयम अन्तर्राष्ट्रिय उडानमा ढिलाइको समय अवधि बढी देखिएको टावर कन्ट्रोल रुमका प्रमुख भन्डारी पनि स्वीकार गर्छन्।
पछिल्लो सयम अन्तर्राष्ट्रिय उडान सेवा दिँदै आएका वायु सेवा कम्पनीका विमान समयभन्दा अगाडि नै नेपाली आकाशमा आइपुग्दा बढी समय डिले हुने गरेको कन्ट्रोल रुमको भनाइ छ।

लामो दूरी अर्थात ५ देखि ६ घन्टासम्मको उडान गर्ने विमान अहिले 'टेल विइङ'का कारण अवतरण समयभन्दा ३०-४५ मिनेट अगाडि नै गन्तव्य नजिक आइपुग्दा समयमै अवतरण हुन नसकेको कन्ट्रोल रुमको भनाइ छ। तर, आन्तरिक उडानमा भने मौसमका कारण मात्रै केही समय विमान डिले हुने गरेको विमानस्थल कार्यालयको दाबी छ।
'टेल विइङ' भनेको विमानको पछाडिपट्टिबाट हावाको दबाब बढ्नु हो। जसका कारण विमानको गति बढी हुन जान्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।