काठमाडौं– शुक्रबारबाट नेपाली हलहरुमा दुई फिल्म रिलिज भएका छन्, साढे ७ र पञ्चेबाजा। साढे ७ ले फोटो पत्रकारको कथा भन्छ भने पञ्चेबाजा ग्रामीण भेगका तीन युवाहरुको मनोदशामा केन्द्रित फिल्म हो।
साढे ७
एक फोटो पत्रकार र उसका जीवनका भोगाइको कथामा आधारित फिल्म हो, साढे ७। २०७२ सालमा नेपालका लागि भारतले गरेको नाकाबन्दी र मधेस आन्दोलनको विम्बलाई फिल्मको मुख्य कथा बनाइएको छ। गायक सत्यराज आचार्य, मेनुका प्रधान, कामेश्वर चौरसिया लगायतको अभिनय रहेको फिल्ममा सत्यराजले फोटो पत्रकारको सशक्त भूमिका निर्वाह गरेका छन्।
फोटो पत्रकारले साढे ७ को दशा लागेर भोग्नुपरेको अप्रिय घटनाको पनि मार्मिक दृश्य पस्कन फिल्म सफल छ। मधेस आन्दोलनको रिपोर्टिङमा काठमाडौंबाट गएका पत्रकार संयोग (सत्यराज) र वेश्यावृत्तिमा फसेकी सरला (मेनुका प्रधान) बीचको एक रातको अन्त्य नै फिल्मको केन्द्रबिन्दु हो।
फिल्मको कथावस्तु अनुसार कलाकारको अभिनय औसन नै छ। आमदर्शकको कमन सेन्सभन्दा प्रस्तुततीकरण अलि फिक्का बनेको छ। फोटो पत्रकारको भूमिकामा जति बुलन्द देखिनुपर्ने हो त्यसमा अभिनेताले कसरत गर्न सकेका छैनन्।
तर चलिराखेको फिल्म फर्मेटभन्दा साढे ७ बिलकुल भिन्न स्वादमा आएको भन्न हिचकिचाउनु पर्दैन।
फिल्म साम्तेन भुटियाको लेखन निर्देशनमा तयार भएको हो।
पञ्जेबाजा
पोखराको एक ग्रामीण भेगका ती युवाहरुको कथा हो पञ्चेबाजा। फिल्ममा सौगात मल्ल, कर्मा शाक्य, जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल लगायतका कलाकारको अभिनय रहेको छ।
भूपि (सौगात मल्ल), रुद्रबहादुर कटुवाल (कर्मा) रुपा (जस्मिन श्रेष्ठ) बीचको पारिवारिक पृष्ठभूमिमा फिल्म निर्माण भएको हो। भूपि र साइँलो (बुद्धि तामाङ) गाउँका अत्यन्त मिल्ने साथी छन्। रंगमञ्चको सशक्त कलाकार भूपि सहरबाट उत्कृष्ट कलाकार बनेर साथी रुद्रबहादुरको बिहेमा गाउँ जान्छ। जन्ती जाँदा बेहुलीमाथि भूपिको नजर पर्न जान्छ। यहीँबाट फिल्मको कथाले गति लिन्छ।
फिल्ममा ग्रामीण परिवेशमा पञ्चेबाजाका साथ गरिने बिहे, संस्कार अनुसारको विवाह मण्डप, पूजापाठलाई यथार्थ रुपमा प्रस्तुत गरिएको छ। रंगमञ्चमा काम गदागर्दै रंगमञ्च जस्तै जीवनको सपनामा लट्ठ भूपिको व्यवहार, उसले गाउँमा बुनेका जालझेल र रुद्रबहादुरले भोग्नुपरेका पीडा ससपेन्सयुक्त दृश्य हुन्।
साइँलोका पारिवारिक सपना, डायलग र साइँली (सिर्जना सुब्बा) को अभिनय शसक्त छ।
तर रात्रि समयमा मद्यपान गर्दै पोखराको दृश्य नियाल्नु, अभियुक्तमाथि प्रहरीको केरकार फितलो हुनु तथा ससपेन्सलाई अनावश्यक लम्ब्याइनु फिल्मका कमजोरी हुन्।
प्रदीप भारद्वाजले लेखेको फिल्मको निर्देशक घनश्याम लामिछाने हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।