काठमाडौं– चन्द्रागिरी हिल्स लिमिडेटले केबलकार चढ्दा यात्रुसँग लिँदै आएको शुल्कको विषयमा सरकारले प्रश्न उठाएको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार चन्द्रागिरी हिल्स लिमिटेडले संचालन गरेको केबलकारमा उपभोक्ताबाट लिइँदै आएको शुल्कका विषयमा प्रश्न उठाएको छ।
विभागको टोलीले आइतबार अनुगमन गरी केबलकार चढ्दा लाग्ने शुल्क के कति कारणले ७ सय रुपैयाँ निर्धारण गरिएको हो, त्यसको लिखित जवाफ ७ दिनभित्र विभागमा पेश गर्न निर्देशन दिएको छ। विभागले २ दशमलव ५ किलोमिटरको केबलबारको भाडा केका आधारमा निर्धारण गरिएको भन्दै प्रश्न गरेको हो।
यसअघि पनि केबलबार सञ्चालनसँगै चन्द्रागिरीमा सञ्चालन भएका पसलहरुले खाना तथा नास्तामा लिएको मूल्यको विषयमा विभागले अनुगमन गर्दै प्रश्न उठाएको थियो। विभागको प्रश्नपछि चन्द्रागिरि हिल्सले त्यहाँ सञ्चालित होटल तथा रेष्टुरेन्टलाई शुल्क घटाउन लगाएको थियो। पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विभागलाई केबुलकारको भाडाको विषयमा अनुगमन गर्न निर्देशन दिएको थियो।
अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठका अनुसार दशैंअघि नै केबलकार शुल्क महंगो भएको उजुरी हेलो सरकारमार्फत विभागमा आएको थियो। सोही उजुरीका आधारमा विभागले अनुगमन गरेको हो। विभागको टोलीले मनकामना र कालिन्चोकमा संचालन भइरहेका केबलकारको समेत भाडादर उपयुक्त रहे/नरहेको बारे अनुगमन र अध्ययन गर्न सक्ने श्रेष्ठले बताए।
‘हामीले केबुलकारको भाडाको विषयमा सात दिन भित्र जवाफ पेस गर्न भनेका छौं,’ श्रेष्ठले भने, ‘जवाफ नुबझाए र चितबुझ्दो नभए कानुनअनुसार कारबाही अघि बढाउँछौं।’
अनुगमनका क्रममा चन्द्रागिरी हिल्सका कर्मचारीले हामीकहाँ यो यति सेवासुविधा छन् र केबलकारको भाडा शुल्क जायज छ भने पनि विभागले भने भाडा कुन आधारमा तोकेको हो, सोको लिखित जवाफ दिन भनेको छ।
चन्द्रागिरि हिल्सले नेपाली यात्रु, चिनियाँ यात्रु, सार्क मुलुकका यात्रु र अन्य मुलुकका यात्रु गरी ४ थरी भाडा निर्धारण गरेको छ।

जसमा नेपाली यात्रुले एकतर्फी भाडा ४ सय १५ रुपैयाँ र दुईतर्फी भाडा ७ सय रुपैयाँ तिर्नुपर्छ। चिनियाँ, सार्क मुलुक र अन्य देशका नागरिकलाई लिने भाडा यो भन्दा निकै बढी छ।
हिल्स अध्यक्ष व्यवसायी चन्द्र प्रसाद ढकाल हुन्। ढकालले निर्माण गरेको रिर्सोटको संरचना पनि अवैधानिक भएको पुष्टि भइसकेको छ। अवैधानिक संरचनालाई नै वैधानिक बनाउन ढकालले कानुनी छिद्र खोजी गरी प्रक्रियासमेत थालनी गरेको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।