काठमाडौं– बिहीबार राति युट्युबमा एउटा गीत अपलोड भयो, ‘दोहोरी ब्याटल’ भनेर। गीतका सर्जक र गायक प्रकाश सपुतले भिडियोमुनि स्पष्टीकरण लेखे, ‘यो लोक दोहोरी गीत होइन । दोहोरीको शैलीबाट प्रभावित मात्रै हो।’
दोहोरी गायकको परिचय बनाइसकेका प्रकाश र दोहोरी गायिकाका रुपमा चिनिएकी प्रिती आलेले गीत गाएका छन्। त्यसैले उनको स्पष्टीकरणले खास अर्थ राखेन। उनको फोन, सामाजिक सञ्जाल र युट्युबकै कमेन्टमा पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन्। कतिले उनलाई निरुत्साहित गरेका छन्, ‘लोक दोहोरी गीत बिगार्यौं ।’ कतिले उत्साहित गरेका छन्, ‘नयाँ तरिकाले गाउनुभयो दोहोरी गीत। मनपर्यो।’
नयाँपन दिने हुटहुटीले यस्तो गीत बनाएका उनी विवादबाट भने पन्छिन चाहन्थे। त्यसैले गीतसँगै उनले स्पष्टीकरण लेखे, ‘दोहोरीको शैलीबाट प्रभावित भए पनि यसमा लोक दोहोरीको जस्तो थेगो (रहनी) र बाजाहरु प्रयोग गरिएका छैनन्। त्यसैले यसलाई ‘दोहोरी ब्याटल’ नाम दिइएको हो। भिडियो हेरिसकेपछि यसलाई नेपाली मौलिकता बोकेको लोकदोहोरी गीतसँग तुलना नगरिदिनुहोला।’
दोहोरीकै शैलीमा रहेको गीतमा प्रकाशले केही नयाँ तरिका अपनाएका छन्। सँगै उनलाई पनि डर रहेछ, ‘दुस्साहस पो हुने हो कि?’
किनभने उनलाई थाहा छ, ‘लोक दोहोरी क्षेत्रमा रहेका अधिकांसको दिमागमा परम्परागत मान्यता सेट छ ।’
तर, लामो समयदेखि प्रकाशलाई दोहोरी गीत नयाँ पुस्ताले पनि सुन्नेगरी कसरी बनाउने? भन्ने प्रश्नले भित्रभित्रै घोचिरहेको थियो।
उनी युवा गायक। तर, उनको गीत सुन्ने र प्रशंसक जम्मै अघिल्लो पुस्ताका। एकपल्ट स्टेज कार्यक्रमकै सिलसिलामा अस्ट्रेलिया पुगेका प्रकाशलाई भेट्न एक युवती आइन्। प्रकाशको ‘लाइभ’ दोहोरीमा सवाल जफाव गर्ने तरिकाकी फ्यान उनले त्यसैका कारण साथीहरुबाट हेपिनु परेको तीतो अनुभूति सुनाइन्। आफूलाई दोहोरी मन पर्ने तर साथीहरुले व्यंग्य गर्ने गरेको बताइन्। त्यसकारण सिरकभित्र लुकेर कानमा एअरफोन लगाउँदै सुन्ने गरेको बताइन्। प्रकाशको चित्त दुख्यो र लक्ष्य लिए, ‘एकिदिन उनीहरुलाई पनि दोहोरीको लत बसाउँछु।’
त्यसअघि उनको लोक दोहोरी गीत फेसबुकमा सेयर गर्ने एकजना युवा फ्यानले पनि उनीसँग यस्तै गुनासो गरे। उनलाई उडाउँदै भनेका थिए, ‘ओई तँ यस्ता गीत सुन्ने कहिलेदेखि भइस्?’
त्यही बेलादेखि हो उनको दिमागमा दोहोरी सवाल जफाव गर्ने तरिकालाई नयाँ पुस्तासम्म पुर्याउने चाहना जागेको। विश्वका युवमाझ र्याप ब्याटल लोकप्रिय भइरहेको अवस्थामा उनको दिमागमा आइडिया फुर्यो, दोहोरी ब्याटल।
उनले गीत र म्युजिक भिडियो बनाइसकेपछि धेरैलाई देखाए र सुनाए । राम्रो पनि भने । तर, डर त्यही तप्काको देखाए, जो परिवर्तन सितिमिति आत्मसाथ गर्दैनन्।
उनले भने, ‘त्यसैले भिडियो अपलोड गर्दा डिफेन्सिभ हुनुपरेको हो।’
धेरै गीतका गायक, मोडेल र रचनाकार प्रकाश लोकदोहोरी क्षेत्रमा चर्चितमध्ये पर्छन्। स्टेज कार्यक्रमका लागि देश–विदेश बोलाइने पहिलो पंक्तिका कलाकारमा उनको नाम छुट्दैन।
दोहोरीलाई ब्याटल बनाइसकेपछि उनलाई डर पनि छ, ‘कतै ब्याक फायर पो होला कि?’
किनभने, यी बागलुङे युवाले भर्खर–भर्खर त जितेका छन्, जन्मसँगै जोडिएर आएको अभावको ‘ब्याटल’। दोहोरी प्रतियोगिता जितेर आर्थिक अभावलाई जित्दै उनी यहाँसम्म आइपुगेका हुन्।
साहित्य र सञ्चारमा विशेष रुची भएका उनले सानैदेखि बागलुङको स्थानीय रेडियोमा काम गरे। स्थानीय एनजिओमा जागिर खाए। स्कुल पढ्दै गर्दा लाइभ दोहोरी प्रतियोगितामा भिड्न सुरु गरे। ‘त्यसको एउटै कारण थियो जितेपछि पाइने पुरस्कार। त्यो पुरस्कारले म कापीकलम र अन्य खर्च जुटाउँथे,’ उनी सम्झिन्छन्।
स्थानीय प्रतियोगितामा सहभागी भयो कि एउटा स्थान पक्का हुन थालेपछि गीतमै सवाल जफाव गर्न सक्ने क्षमता आफूमा रहेको उनले महसुस गरे। काठमाडौंमा आएर दोहोरी साँझमा त्यही कला बेचे। दुबईका दोहोरी साँझमा पुगेर त्यही शैलीमा गीत सुनाए। गायनमा स्थापित हुनुअघि उनी सेक्युरिटी गार्ड भएर दुबई जान खोजेका थिए । भने, ‘तर, उमेर र हाइटले रोक्यो।’
काठमाडौं र दुबईका दोहोरी साँझमा गीत गाएर बटुलेको पैसाले उनले आफ्नै गीत र एल्बम निकाल्न थाले । आफ्ना र अरुका गीतमा नृत्य गर्न थाले। स्टेज कार्यक्रम सञ्चालनसँगै नाच्न र गाउन थालेपछि उनको चर्चा पनि चुलिँदै गयो।
निरन्तर संघर्षले अभाव विरुद्धको युद्ध जितेका प्रकाश ‘दोहोरी ब्याटल’ मार्फत् नयाँ पुस्ताका स्रोताको मन जित्न चाहन्छन्। युट्युबमा अपलोड भएको २४ घन्टा (शुक्रबार राति ८ बजेसम्म) नबित्दै नेपालको २८औं ट्रेन्डिङमा पुगिसकेको छ। आफ्नो दोहोरी ब्याटल ट्रेन्डिङमा माथि उक्लिएपछि उनी उत्साहित छन्।
जीवनशैली, लवाइखवाइ र रुची बदलिँदै जाँदा गीतहरु पनि बदलिनुपर्छ भन्ने धारणा छ उनको। उनी ठान्छन्, ‘अहिलेसम्म अघिल्लो पुस्ताका स्रोताका कारण लोक र दोहोरी क्षेत्रका कलाकार टिकेका छौं। नयाँ स्रोता आकर्षित गर्न सकेनौं भने हामी पनि सकिन्छौं।’
यो गीत मार्फत त्यही एउटा बहस पनि छेड्नुछ उनलाई। बहसका लागि उनको प्रश्न छ, ‘गीत सुन्ने र हेर्ने लोक बदलिरहेका छन् भने लोक गीत बदलिनुपर्छ कि पर्दैन?’
उनले अन्त्यमा फेरि भने, ‘तर दोहोरी ब्याटल लोकगीत चाहिँ होइन है।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।